राजेश राय यादव निलम्बनपछि मनोज भट्टलाई नेपाली कांग्रेस बारा कार्यवाहक सभापतिको जिम्मेवारी

साझेदारी डेलि
111 पाठक संख्या

कलैया । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादव निलम्बनमा परेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरबाट जारी पत्रअनुसार केन्द्रीय अनुशासन समितिको २०८३ जेठ २१ गतेको निर्णयबमोजिम सभापति राजेश राय यादव निलम्बनमा रहेकाले जिल्ला सभापतिको पद रिक्त रहेको उल्लेख गरिएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै पार्टीका सांगठनिक गतिविधि नियमित, प्रभावकारी र गतिशील रूपमा सञ्चालन गर्न तथा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार संगठन परिचालनलाई निरन्तरता दिन उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको हैसियतमा दैनिक कामकाज गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

पार्टीका सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली, २०७६ बमोजिम पार्टीको हित चिताई दैनिक कामकारबाही गर्न मनोज भट्टलाई निर्देशन दिइएको छ।

यस निर्णयसँगै नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको नेतृत्व अब कार्यवाहक सभापति मनोज भट्टले सम्हाल्ने भएका छन्।

Leave a review

This will close in 0 seconds