मनसुनजन्य विपद् सामना गर्न रौतहट प्रहरीको विशेष पूर्वतयारी: बरहवा तालमा उद्धार अभ्यास

Subash Kumar Mishra
77 पाठक संख्या

रौतहट । आगामी मनसुनका क्रममा हुन सक्ने अत्यधिक वर्षा, बाढी तथा डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले विपद् प्रतिकार्यको तयारी तीव्र पारेको छ।

सम्भावित प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न र उद्धार कार्यलाई थप चुस्त एवं व्यवस्थित बनाउने उद्देश्यले प्रहरीले विशेष उद्धार अभ्यास सम्पन्न गरेको छ।

शनिबार साँझ गौर नगरपालिका–५ स्थित बरहवा ताल क्षेत्रमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा ‘मनसुनजन्य विपद् प्रतिकार्य तथा अभ्यास’ प्रदर्शन गरिएको हो। रौतहट सधैँजसो बाढी र डुबानको उच्च जोखिममा रहने क्षेत्र भएकाले मनसुनको सुरुवातमै प्रहरीले यो पूर्वतयारी थालेको हो।

रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालको प्रत्यक्ष उपस्थितिमा उक्त अभ्यास सञ्चालन गरिएको थियो।अभ्यासका क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश कुमार केसीको कमाण्डमा रहेको विशेष विपद् प्रतिकार्य तथा उद्धार टोलीले विभिन्न कृत्रिम दृश्यहरू सिर्जना गरी उद्धार सीप प्रदर्शन गरेको थियो।

उद्धार टोलीले बाढी र डुबानमा फसेका नागरिकहरूलाई कसरी सुरक्षित रूपमा बाहिर निकाल्ने, उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित आश्रयस्थलमा कसरी स्थानान्तरण गर्ने, र घाइतेहरूलाई तत्काल दिइने प्राथमिक उपचार (First Aid) विधिका बारेमा प्रयोगात्मक अभ्यास गरेका थिए।

यसका साथै विपद्का बेला विभिन्न सरोकारवाला निकायहरूसँग कसरी तीव्र र प्रभावकारी समन्वय गर्ने भन्नेबारे पनि अभ्यास गरिएको प्रहरीले जनाएको छ।

विपद्को समयमा उद्धार टोलीको कार्यकुशलता बढाउन र स्रोत साधनको सही परिचालन गर्न यो अभ्यास निकै फलदायी हुने विश्वास प्रहरी प्रशासनले लिएको छ। मनसुन सक्रिय भएसँगै रौतहट प्रहरीले जिल्लाका जोखिमयुक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनुका साथै आवश्यक उद्धार सामग्रीहरू समेत तयारी अवस्थामा राखेको जनाएको छ।

Leave a review

This will close in 0 seconds