स्थायी कर्मचारी हटाउने तयारीको आरोपले श्रीपुरस्थित रिलायन्स चिनी मिल्समा श्रम विवाद

साझेदारी डेलि
190 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी मिल्समा स्थायी कर्मचारीको सेवामाथि प्रश्न उठेपछि श्रम सम्बन्ध तनावपूर्ण बनेको छ। लामो समयदेखि कार्यरत स्थायी कर्मचारीलाई सेवाबाट अलग गरी करार प्रणाली लागू गर्ने तयारी भएको आरोपसँगै श्रमिक पक्ष आन्दोलनको तयारीमा जुटेको छ।

मिल्समा करिब दुई दशकदेखि सुरक्षा गार्डका रूपमा कार्यरत हरेन्द्र राउत अहिर र जौआद अन्सारीले आफूहरूलाई कुनै लिखित निर्णयबिना काममा उपस्थित हुन रोक लगाइएको बताएका छन्। उनीहरूका अनुसार स्थायी सेवाबाट राजीनामा दिन दबाब दिँदै करार सेवामा पुनः नियुक्ति लिन आग्रह गरिएको छ, जुन श्रमिक अधिकारविपरीत भएको उनीहरूको दाबी छ।

प्रभावित कर्मचारीले पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवले कार्यकालमा आफूहरूमाथि दुव्र्यवहार गरेको, अपशब्द प्रयोग गरेको तथा झुटा आरोप लगाएर कानुनी झमेलामा पार्ने प्रयाससमेत गरेको आरोप लगाएका छन्। अदालतबाट सफाइ पाएपछि पनि काममा फर्कन नदिई स्थायी हैसियत समाप्त गर्न खोजिएको उनीहरूको भनाइ छ।

श्रमिक संगठनले व्यवस्थापनको यस्तो कदमले उद्योगभित्र असुरक्षा र अन्योल बढाएको जनाएको छ। मिल्स युनियनका नेता सुरेश चौधरीले स्थायी कर्मचारीलाई विस्थापित गर्ने कुनै निर्णय गरिएको भए त्यसको आधिकारिक कागजात सार्वजनिक गर्न माग गरेका छन्। हालसम्म व्यवस्थापनले कुनै लिखित जानकारी उपलब्ध नगराएको उनले बताए।

उनका अनुसार आइतबार श्रमिक प्रतिनिधि र उद्योग व्यवस्थापनबीच वार्ता हुने तय भएको छ। वार्ताबाट कर्मचारीको सेवा सुरक्षाको प्रत्याभूति नभए तथा दुवै कर्मचारीलाई पुनः काममा फर्काउने निर्णय नगरिए चरणबद्ध आन्दोलन घोषणा गरिने युनियनको चेतावनी छ।

श्रमिक पक्षका अनुसार पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवविरुद्ध पटक–पटक गुनासो परेपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो। तर कर्मचारीमाथि भएको व्यवहार र रोजगारीसम्बन्धी विवाद भने अझै टुंगोमा पुग्न सकेको छैन।

उद्योग क्षेत्रमा स्थायी कर्मचारीलाई करार प्रणालीमार्फत प्रतिस्थापन गर्ने प्रयास भएको आरोप नयाँ नभए पनि रिलायन्स चिनी मिल्समा देखिएको पछिल्लो विवादले श्रम सम्बन्ध, रोजगारीको सुरक्षा र औद्योगिक व्यवस्थापनप्रति पुनः प्रश्न उठाएको छ। यस विषयमा उद्योग व्यवस्थापनसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।

Leave a review

This will close in 0 seconds