कलैया । बाराको कलैया उपमहानगरपालिका–२ का रामजी मण्डल महतोले आफ्नो अनुमतिविना एनआईएमबी बैंकको वीरगन्ज शाखाबाट आफ्नो नाममा चेकबुक निकालेर दुरुपयोग गरिएको आरोप लगाउँदै तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
महतोले सोमबार एनआईएमबी बैंक लिमिटेड कलैया शाखाका प्रबन्धक परमेश्वर प्रसाद साहलाई निवेदन दिँदै आफ्नो जानकारी तथा अनुमतिबिना २०८३ भदौ ९ गते (२५ अगस्त २०२६) बैंकको वीरगन्ज शाखाबाट आफ्नो नाममा १० पाना भएको चेकबुक निकालिएको दाबी गरेका हुन्।

उनका अनुसार चेकबुक निकाल्ने क्रममा प्रयोग भएको कागजात तथा प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको र चेकमा गरिएको हस्ताक्षरसमेत आफ्नो वास्तविक हस्ताक्षर नभएको निवेदनमा उल्लेख छ। सामाजिक सञ्जालमा नक्कली चेक तथा हस्ताक्षर दुरुपयोगसम्बन्धी घटना देखेपछि आफूले आफ्नो खाताको चेकजाँच गर्ने क्रममा उक्त विषयबारे जानकारी पाएको उनले बताएका छन्।
महतोले घटनालाई गम्भीर बैंकिङ तथा आर्थिक अपराधको विषयका रूपमा लिएर तत्काल छानबिन गर्न बैंकसँग माग गरेका छन्। उनले आफ्नो खातासँग सम्बन्धित चेकबुक वीरगन्ज शाखाबाट कसरी र कुन प्रक्रियामार्फत निकालियो भन्ने विषयमा जवाफदेहिता कायम गर्न,चेकबुक माग फारम, हस्ताक्षर, खाताको नमुना, सीसीटीभी फुटेज र बैंकिङ प्रणालीमा रहेका सम्बन्धित अभिलेख सुरक्षित राखी आवश्यक अनुसन्धान गर्न आग्रह गरेका छन्।
त्यसैगरी, आफ्नो अनुमतिविना जारी तथा प्रयोग भएको चेकबुकको सम्पूर्ण विवरण उपलब्ध गराउन, घटनामा बैंकका कर्मचारीको संलग्नता देखिए सम्बन्धित कर्मचारीमाथि बैंकको नियम तथा प्रचलित कानुनबमोजिम कारबाही गर्न र छानबिनको लिखित प्रतिवेदन उपलब्ध गराउन उनले माग गरेका छन्।
महतोले बैंकबाट यथाशीघ्र आवश्यक कारबाही नभए नेपाल राष्ट्र बैंक, सम्बन्धित अनुसन्धान निकाय तथा अन्य निकायमा औपचारिक उजुरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएका छन्। साथै, घटनाबाट भएको आर्थिक तथा अन्य क्षतिको जिम्मेवारी सम्बन्धित पक्षबाट कानुनी प्रक्रियामार्फत असुलउपर गर्ने उनको भनाइ छ। एनआईएमबी बैंकका खातावाला तथा ऋणी रामजी मण्डल महतोको खाता नम्बर २९९०५३९०२५१०७५ र २९९०१०५०२५१२४२ रहेको छ।
यता यस विषयमा एनआईएमबी बैंक कलैया शाखाका शाखा प्रबन्धक परमेश्वर प्रसाद साहसँग बुझ्दा महतोले दिएको निवेदन आफूले प्राप्त गरी सम्बन्धित वीरगन्ज शाखामा पठाइसकेको जानकारी दिए । साहका अनुसार घटनासम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाइएको छ।


