बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

साझेदारी डेलि
448 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ०५ एभी ६१३६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मधेश प्रदेशको मोटरसाइकल चालक करैयामाई गाउँपालिका–७ निवासी ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय अन्जित चौधरी मध्यम घाइते भएका छन्।

यस्तै, बीआर ०५ एभी ६१३६ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोड निवासी ३५ वर्षीय साहेब देवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएकोमा चिकित्सकले राति १०ः४० बजे मृत घोषणा गरेका थिए। मृतकको पहिचान उनका ससुरा अमजद हुसेन देवानले गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनापछि प्रहरी नायब निरीक्षक विमलेश कुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा सोकोसहितको टोलीसमेत घटनास्थल पुगेर मुचुल्का तयार गरेको थियो।

कानुनी प्रक्रिया पूरा गरी भदौ २८ गते आइतबार (आज) मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। पोस्टमार्टमपछि सोही दिन दिउँसो १ः०५ बजे मृतकका मामा नुरुल होदा देवानले शव बुझेर लगेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

Leave a review