बारामा विभिन्न मुद्दामा सजाय तोकिएका १२ फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
228 पाठक संख्या

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मंगलवार उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा बुझाइएको निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएका छन् । पक्राउ पर्नेहरूमा चेक अनादर, बैंकिङ कसुर तथा सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिहरू रहेका छन्।

चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका –१४ का ३२ वर्षीय सनि प्रसाद जैसवाललाई अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्दामा १ हजार ५०० रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका –०५ कि रेणु गिरिलाई ईलाका प्रहरी कार्यालय जितपुरले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा ५०० रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका –१० का रामबाबु धानुकलाई ईलाका प्रहरी कार्यालय जितपुरले पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा ६६६.६६ रुपैयाँ जरिवाना पाएका महागढीमाई नगरपालिका–१ का धिरेन्द्र कुमार चौधरी,सुदामा साह कानु र मोतिलाल प्रसाद यादवलाई प्रहरी चौकी बरियारपुरले पक्राउ गरेको छ । चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना पाएका निजगढ नगरपालिका –७ का जित सिंह लामालाई र सोही मुद्दामा ५०० रुपैयाँ जरिवाना पाएका संकलन अचार्यलाई ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ । चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना पाएका फेटा गाउँपालिका–५ का ब्रजेश पाण्डेलाई ईलाका प्रहरी कार्यालय छतवाले पक्राउ गरेको छ । चेक अनादर मुद्दामा ५०० रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका –५ का बिरेन्द्र साह कानुलाई ईलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ ।

त्यस्तै बैकिङ कसुर मुद्दामा प्रसौनी गाउँपालिका–२ का लक्ष्मी नारायण महतोलाई ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको छ । त्यसैगरी सवारी ज्यान मुद्दामा २५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका –२२ का बिपिन पाख्रिनलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले पक्राउ गरेको हो।

Leave a review