पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत २५ छात्रालाई हाँसका चल्ला वितरण

रञ्जन यादव
21 पाठक संख्या

जीतपुर । बाराको विश्रामपुर गाउँपालिका–१ छतवा रामटोलका २५ छात्रालाई पढाइसँगै आयआर्जनतर्फ जोड्ने उद्देश्यले हाँसका चल्ला वितरण गरिएको छ। विद्यार्थीलाई विद्यालयको शिक्षासँगै व्यवहारिक सीप सिकाउने उद्देश्यले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, माईस्थान शाखाले कार्यक्रम सञ्चालन गरेको हो।

संस्थाको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई बुधबार हाँसका चल्ला उपलब्ध गराइएको हो। कार्यक्रममा सहभागी प्रत्येक छात्रालाई १० वटाका दरले कुल २ सय ५० वटा चल्ला वितरण गरिएको संस्थाका कर्मचारी कृष्णा यादवले जानकारी दिनुभयो।

कार्यक्रमले विद्यार्थीलाई प्रारम्भिक उमेरदेखि नै पशुपन्छी पालन तथा आयआर्जनसँग सम्बन्धित सीप सिकाउने लक्ष्य राखेको माईस्थान शाखा प्रमुख श्यामकुमार रमौलीले बताउनुभयो। उहाँका अनुसार हाँस पालनबाट विद्यार्थीले व्यावहारिक ज्ञान र व्यावसायिक सीप हासिल गर्नुका साथै उत्पादनबाट हुने आम्दानीलाई अध्ययन तथा दैनिक आवश्यकतामा उपयोग गर्न सक्नेछन्।

रमौलीले विद्यार्थीले अहिले सिकेको हाँस पालनसम्बन्धी सीपलाई भविष्यमा व्यावसायिक गतिविधिका रूपमा विस्तार गर्न सक्ने बताउनुभयो। स्थानीय आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो।

हाँसका चल्ला पाएपछि छात्राहरू उत्साहित भएका छन्। पढाइसँगै केही आम्दानी गर्ने अवसर पाएकाले आफूहरूलाई नयाँ अनुभव हुने उनीहरूले बताएका छन्। चल्लाको उचित हेरचाह गरी हाँस पालनबाट प्राप्त आम्दानीलाई अध्ययन तथा आवश्यक खर्चमा प्रयोग गर्ने उनीहरूको भनाइ छ। विद्यालय तथा स्थानीय प्रतिनिधिहरूले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षा, सीप र आयआर्जनसँग जोड्ने यस्ता कार्यक्रमले उनीहरूमा आत्मनिर्भर बन्ने सोच विकास गर्न सहयोग पुग्ने बताएका छन्।

Leave a review