पर्सामा अनेरास्ववियुद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन,हरि खेतान क्याम्पसको पढाइ तत्काल सुरु गर्न आग्रह

साझेदारी दैनिक
112 पाठक संख्या

वीरगञ्ज । पर्साको वीरगञ्ज आदर्शनगरस्थित हरि खेतान बहुमुखी क्याम्पसमा पठन पाठन तत्काल सुरु गर्न नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साले आग्रह गरेको छ।

विगत ५० दिनदेखि अवरुद्ध पठनपाठन तत्काल सुचारु गर्न माग गर्दै बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको हो।

अनेरास्ववियुले ज्ञापनपत्रमा क्याम्पस प्रशासन र सञ्चालक समितिको आन्तरिक विवादले विद्यार्थीको भविष्य जोखिममा परेको भन्दै तत्काल समाधानको पहल गर्न आग्रह गरेको छ।

भदौ १ गतेदेखि सो क्याम्पसमा पठनपाठन पूर्ण रूपमा ठप्प छ। क्याम्पस प्रशासन र सञ्चालक समितिबिचको विवादका कारण सो क्याम्पसका शिक्षक र कर्मचारी पीडित रहेकाछन्। उनीहरुले लामो समयदेखि तलब–भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनले गर्दा क्याम्पसको शैक्षिक वातावरण खलबलिएको छ ।
विद्यार्थीहरूले पनि धर्ना, प्रदर्शन गर्दै आएका छन् ।

क्याम्पस सञ्चालक समितिको आन्तरिक किचलोले विद्यार्थीको पढाइमा गम्भीर असर परेको ज्ञापनपत्रमा उल्लेख छ। सञ्चालक समितिका केही व्यक्तिहरूमाथि खेतान परिवारको जातीय पहिचानलाई लिएर विवाद सिर्जना गरी क्याम्पसको सम्पत्ति र आम्दानी हडप्ने प्रयास गरेको गम्भीर आरोप अनेरास्ववियुले लगाएको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सह–सचिव आमान अन्सारी, अनिल हजरा लगायतको सहभागिता रहेको टोलीले प्रजिअ सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन्।

Leave a review