परवानीपुर-२ मा बर्थिङ सेन्टर सञ्चालन, अब गाउँमै निःशुल्क प्रसूति सेवा

रञ्जन यादव
64 पाठक संख्या

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका–२ का गर्भवती महिलाले अब स्थानीय स्वास्थ्य चौकीबाटै प्रसूति सेवा पाउने भएका छन्। स्थानीय रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि गाउँमै सुरक्षित प्रसूति सेवाको सुविधा उपलब्ध भएको हो।

बर्थिङ सेन्टरको गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीले रिबन काटेर औपचारिक उद्घाटन गरे। सेन्टर सञ्चालनसँगै प्रसूति सेवाका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता केही हदसम्म हट्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले बर्थिङ सेन्टरबाट सुत्केरी सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ। सुत्केरी आमालाई यातायात खर्चबापत १ हजार रुपैयाँसमेत प्रदान गरिनेछ। तोकिएको प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा चार पटक गर्भजाँच गराई यही बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाले थप ८ सय रुपैयाँ पाउने व्यवस्था गरिएको छ।

प्रसूति सेवाका लागि स्वास्थ्य संस्थासम्म आउन र सुत्केरीपछि घर फर्किन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ। साथै, बर्थिङ सेन्टरमा सुत्केरी हुने प्रत्येक आमालाई आमा र नवजात शिशुका लागि आवश्यक कपडा समेटिएको एक थान न्यानो झोला पनि निःशुल्क दिइनेछ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा नं. २ का वडाध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्रलगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा तथा गाउँपालिकाका कर्मचारी र सञ्चारकर्मीको सहभागिता थियो।

बर्थिङ सेन्टर सञ्चालनले परवानीपुर–२ का साथै आसपासका क्षेत्रका गर्भवती महिलालाई स्थानीयस्तरमै सुरक्षित प्रसूति सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष कुर्मीले बताए।

Leave a review