बारामा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, बन्दुकसहित एक जना पक्राउ

साझेदारी डेलि
56 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोबिन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउने क्रममा सोही ठाउँका अन्दाजी ३२/३३ वर्षीय उत्तम रमौली मगरलाई छर्रा लागेको हो।

छर्रा लागेर घाइते भएका रमौली मगरलाई उपचारका लागि पर्साको गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा लगिएको छ।

घटनाबारे साँझ ६ः५० बजे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त भएपछि प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेको कमाण्डमा सात जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक संजय कुमार वर्माको कमाण्डमा दुई जना तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दायकृष्ण भट्टको कमाण्डमा २२ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा गोबिन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेका मगरमाथि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिमरा बाराबाट भइरहेको छ।

Leave a review