तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा दुई अधिकृतविरुद्ध आरोपपत्र दायर

साझेदारी डेलि
309 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्सामा कार्यरत दुई जना अधिकृत छैठौँ (प्राविधिक) विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा बिहिवार आरोपपत्र दायर गरेको छ।

आरोपत्र दायर गरिएकामा अधिकृत छैठौँ (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र विकी यादव रहेका छन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध तीन लाख ४५ हजार रुपैयाँ घुस (रिसवत) लिएको आरोपमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगन्जबाट पर्साको ठोरी गाउँपालिका–३ मा ‘जलस्रोतको पुनर्भरण/भण्डारण कार्य (सार्वजनिक इनार/पोखरीको) निर्माण तथा मर्मत सम्भार कार्य’ योजना सञ्चालन गरिएको थियो।

उक्त योजनाको भुक्तानी दिन तथा धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग जायसवाल र यादवले तीन लाख ४५ हजार रुपैयाँ घुस मागेको र लिएको भन्ने दसी प्रमाणसहितको उजुरी प्राप्त भएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा दुवै अधिकृतले आपसी मिलेमतो गरी आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै योजनाको भुक्तानी र धरौटी रकम फिर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग बार्गेनिङ गरेको अख्तियारको दाबी छ। सोही क्रममा उनीहरू तीन लाख ४५ हजार रुपैयाँ घुस लिन सहमत भएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ।

अख्तियारका अनुसार पूर्वयोजना तथा सहमतिबमोजिम जायसवालले कार्यालय समयमा रकम लिन नमिल्ने भन्दै सोही स्थानमा रहेका अर्का व्यक्तिलाई घुसको रकम दिन सेवाग्राहीलाई भनेका थिए। जायसवालले भनेबमोजिम उक्त व्यक्तिले रकम लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।

आयोगले जायसवाल र यादव दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप लगाएको छ। दुवै जनाविरुद्ध तीन लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय तथा सोही दफाबमोजिम बिगो बराबरको जरिवाना गर्न मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

Leave a review