राम मण्डल/
वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ ।
महानगरपालिकाले वीरगन्न्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३÷३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो । महानगरले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाखका दरले जरीवाना गरेको हो ।
नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।
७ दिनभित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरु विरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेखछ ।वीरगन्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदुषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए । यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १÷१ हजार रुपैया जरिबाना तिराएको थियो ।
करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाईरहेको छ । उक्त अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदिमा फाल्दै आएको भेटिएको थियो । त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदुषण नगर्न चेतावनी पनि दिएको थियो ।
महानगरले लिखित रुपमै चेतावनी दिदा समेत अटेरी गरि उद्योगका फोहोर र रसयानयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३÷३ लाख रुपैयाँको दरले जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले भने‘ सिर्सिया नदि वीरगन्ज शहरकै लाइफलाइन हो , त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ , नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब रोकिदैन ।’ उनले अनुगमन जारी रहने र नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताए । बाराको सिमरा भन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ ।

