त्राहिमाम् त्राहिमाम्

साझेदारी दैनिक
401 पाठक संख्या

केही महिना देखि जिल्लाको वातावरण त्रासमय बनेको छ । यो त्रासमा अभिवृद्धि सोमबार भएको एक दुखद हत्याकाण्डले गरेको छ । शान्ति सुरक्षालाई चुनौती दिदै मध्यान्हमा एक यूवाको हत्या भएको छ । अज्ञात समूहले बारा सदरमुकाम कलैयामा दिन दहाडै गोली प्रहार गरी हत्या गरेको छ । अज्ञात समूहको गोली प्रहारबाट बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल तथा संचालक गुडडु भनिने ३९ वर्षीय रुपेश सर्राफको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएका सर्राफ माथि खाजा किनेर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको हो । उनी ना ५३ प ९१२८ नम्बरको मोटरसाईकलबाट बोडिङ्गतर्फ फर्किरहेका थिए । सोही क्रममा मोटरसाईकलमा आएका दुई जनाले छाती र टाउकोमा गरी तीन राउण्ड गोली प्रहार गरेको हो । गोली प्रहारबाट घाईते सर्राफको प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचार भएकोमा उनलाई वीरगञ्ज लगिएको थियो । वीरगञ्ज स्थित बयोधा अस्पतालमा उपचारको क्रममा बयोधा अस्पतालका चिकित्सकले सर्राफलाई मृत घोषणा गरेका हुन् ।

यो घटनासंगै बारामा सुरक्षा अवस्था बारे प्रश्न उठेको छ । वीरगञ्जमा नेपाल भारतको सीमावर्ति सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले नेपाल भारतको सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्ने निर्णय गरेको थियो । तस्करी रोक्ने तथा साना हतियारलाई नियन्त्रणमा लिने निर्णय गरेको थियो । सो निर्णय पश्चात बारा सदरमुकाम कलैयामा यो घटना भएको छ । सो घटनाले कलैयावासी स्तव्ध तथा मर्माहत भएका छन् । कलैयाले एक सफल प्रिन्सिपल गुमाएको छ । यो घटनाले कलैयाको शिक्षा क्षेत्र मर्माहत भएको छ । भारतीय नम्बरको दुई वटा मोटरसाइकलमा आएका चार जनाले सर्राफ माथि गोली प्रहार गरेका थिए । सदरमुकाम कलैयावासीहरुले आपूmलाई असुरक्षित महसुस गर्न थालेका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आधा दर्जन मानिसलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।जसमा एक महिला सहित तीन जना नेपाली नागरिक छन् । तीन जना भारतीय नागरिक समेत नियन्त्रणमा रहेका छन् ।

यो एक हृदय विदारक घटना हो । यस्तो घटनाको जतिक्कै निन्दा तथा भत्र्सना गरे पनि कम नै हुन्छ । कलैयाको मुख्य चोकभन्दा दुई सय मिटर टाढा यस्तो घटना हुनु एक प्रश्नचिन्ह रहेको छ । सुरक्षामै नै प्रश्नचिन्ह उठेको छ ।बारामा एक महिना यता यो समेत गरी तीन वटा हत्या भइसकेको छ । पचरौता नगरपालिकामा दुई जनाको हत्या भइसकेको छ । यसले समग्रमा जिल्लाको सुरक्षामा प्रश्न उठाएको छ । पुरानो समयमा शरण, सुरक्षा तथा पुरानो अवस्थालाई कायम राख्न मानिसले त्राहिमाम् त्राहिमाम् भन्ने गर्थे । यो प्रहरी प्रशासनको असफलता हो । अहिले कलैयाका नागरिक त्राहिमाम् त्राहिमाम् गरिरहेका छन् । सर्राफको हत्यामा संलग्न रहेका व्यक्तिलाई अनुसन्धान पश्चात पहिचान गरी कडा कानुनी दण्ड दिलाउन जरुरी रहेको छ ।

Leave a review

This will close in 0 seconds