बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित अमलेखगञ्जको जङ्गलमा करिब १२ करोड ५० लाखको लागतमा क्यानोपी ब्रिज निर्माणकोलागि गृहकार्य अघि बढाईएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जमा पर्या पर्यटनको बिकास गर्न नेपालकै सबैभन्दा लामो क्यानोपी व्रिज बन्ने भएको हो ।
उपमहानगरपालिकालाई पर्यटनको हबको रुपमा बिकास गर्ने उद्देश्यले २५ सय मिटर लामो क्यानोपी ब्रिज बनाउँन लागेको पर्यटन तथा सहकारी बिकास शाखा प्रमुख अधिकृत सुधन चौधरीले जानकारी दिए ।
हात्तीसार देखि कामनी दहसम्म २५ सय मिटर लामो क्यानोपि ब्रिज बनाउँने बिषयमा अध्ययन तथा अनुसन्धान भईरहेको उनले साझेदारी दैनिकलाई जानकारी दिए ।
क्यानोपी ब्रिजको डि.पि.आर. ( बिस्तृत अध्ययन प्रतिबेदन ) तयार गर्नकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले प्लेटफर्म ईन्जिनीयरिङ्ग कन्सलटेन्सीसँग सम्झौता गरेको छ । कन्सलटेन्सीले तीन महिना भित्र डि.पि. आर. बनाएर दिने छ ।
क्यानोपि ब्रिज झुलुङ्गे पुल झै आकृति भएको ब्रिज हो । अध्ययन तथा अनुसन्धान भईरहेको ब्रिज बनेपछि पर्यटकहरुलाई जंगली जनावरहरुको गतिबिधि अवलोकन गर्न सहज हुने छ ।
क्यानोपी ब्रिज निर्माणकोलागि चाहिने बजेटको लागि उपमहानगरपालिकाको बजेट अपर्याप्त रहेका कारण संघ सरकार र प्रदेश सरकारसँग माग गर्ने उपमहानगरपालिकाको योजना रहेको अधिकृत चौधरीले बताए ।

