जीतपुरसिमरा अस्पतालमा सेवा सुविधा थप,बिरामीको चाप बढ्यो

रञ्जन यादव
484 पाठक संख्या

जीतपुरसिमरा अस्पतालमा सेवा,सुविधा थप भएपछि बिरामीको चाप बढेको छ ।

यहाँ दैनिक दुई सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् । दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय अस्पतालले २४ सै घण्टा सेवा दिइरहेको छ । यहाँ आकस्मिक सेवा,गर्भवती परीक्षण,गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा,बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओ.पी.डी.सेवा सञ्चालन गर्दै आएको छ ।

विगतमा खकार,रगत,सुगर,थाईराइड,मुटु,मिर्गौला परीक्षण गर्न वीरगन्ज,हेटौँडा काठमाडौँ जाने बिरामीहरूले अहिले जीतपुर सिमरा अस्पतालबाटै सेवा पाइरहेका छन् ।

मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात भए÷नभएको परीक्षण समेत जीतपुर सिमरा अस्पतालबाटै पाउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश साहले जानकारी दिए ।

जीतपुर सिमरा अस्पतालबाट उपमहानगरका २४ वटै वडाका स्थानीय बाहेक बाराका अन्य पालिका र रौतहटसम्मका बिरामीले सेवा लिइरहेका छन् ।

चार जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले अहिले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि फार्मेसी सञ्चालन गरेको छ । नेपाल सरकारले प्रदान गर्ने ९८ प्रकारका औषधिहरू यहाँ निःशुल्क पाइन्छ ।

अन्य बजारमा पाइने महँगो औषधीमा न्युनतम् शुल्कमा पाइने अस्पताल प्रशासनले जनाएको छ । जीतपुर सिमरा उपमहानगरले शिक्षा र स्वास्थ्यमा सुधार गर्ने नीति अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पतालको रूपमा सञ्चालन गरेको छ ।

अस्पताललाई चुस्त दुरुस्त सञ्चालन गर्न अझै धेरै व्यवस्थापनको काम गर्न बाँकी रहेको डा.साहले जनाएका हुन् ।

अस्पतालका ल्याब टेक्निसियन रमनकुमार उपाध्यायले ल्याब परीक्षणका लागि दुई महिना अघि नयाँ मेसिनहरू सञ्चालनमा ल्याएको बताएका हुन् ।

Leave a review