महिला समुहको पहलबाट करिब ४ सय बालबालिका विद्यालय भर्ना

साझेदारी दैनिक
540 पाठक संख्या

लक्ष्मी खरेल/

बाराका २ पालिकाका महिला कृषक समुहहरुले करिब ४ सय बालबालिकालाई विद्याालय भर्ना गराएका छन् ।

समुह सदस्यहरुकै पहलमा विद्यालय जाने उमेर पुगेर पनि विभिन्न कारणले शिक्षाको पहुँच बाहिर रहेका ३ सय ८३ जना बालबालिकालाई विद्याालय भर्ना भएका हुन् ।

सुवर्ण गाउँपालिकाका २ सय ९० जना र महागढिमाई नगरपालिकाका ९३ जना बालबालिकालाई विद्यालयमा भर्ना गराइएको हो ।

पछिल्लो समय चलेको तातो पश्चिमे हावासँगै चर्को घामले आलस तालस बनाएको अवस्थालाई वास्तै नगरी आमाहरु विद्यालय धाएर भर्ना अभियानमा जुटेको देख्दा शिक्षकहरु भने अचम्मित बनेका छन् ।

समुहका सदस्य आमाहरु आवश्यक कागजात सहित टोल भरीका छोराछोरी भर्ना गराउन आफैं विद्यालय धाउन थालेपछि शिक्षकहरु अचम्मित भएका हुन् ।

ब्रह्मबाबा महिला कृषक समुहले आज श्री गढिमाई महेन्द्र आधारभुत विद्यालय बरियारपुरमा १३ जना विद्यार्थीलाई भर्ना गराएको छ ।

त्यस्तै गत मंगलबार मात्रै चाँदनी,मुस्लीम र महमदन महिला कृषक समुहको पहलमा सुवर्ण ८ भिष्वाप्रशुरामपुर स्थित श्री नेपाल राष्ट्रिय प्रा.वि.मा एकैपटक एक सय बयालिस जना बालबालिकाहरुलाई भर्ना गराइएको थियो ।

यत्तिको संख्यामा बालबालिकाहरुको जन्मदर्ताको प्रतिलिपी, बुबाआमाको नागरिकताको फोटोकपी र एक प्रती फोटो एकमुष्ठ संकलन गरेर स्वयं आमाहरुले हाम्रा छोराछोरीलाई भर्ना गरिदिनु पर्याे सर भन्न आएको यो पहिलो र सम्झन लायक दिन रहेको प्रधानाध्यापक योगेन्द्र प्रसाद कुश्वाहाले बताए ।

“बच्चा डोर्‍याउँदै आमाहरुको हुल विद्यालय पसेको देख्दा सुरुमा त अचम्ममा परें” विद्यालयका प्रधानाध्यापक कुश्वाहाले भने “भर्ना अभियानका क्रममा घरदैलो गरियो, परिणाम स्वरुप ७ जना मात्रै बालबालिका विद्यालय भर्ना भए । मंगलबार अचानक डेढ सयको हाराहारीमा विद्यार्थी भर्नाका लागि अभिभावक सहित आएको देख्दा पत्याउन गार्‍हो भयो ।” उनले थपे “अभिभावकले स्वयं सचेत भएर भर्ना गराएका बालबालिकाहरुलाई ड्रेस,कपि र कलमको व्यवस्थापन गर्नु तथा विद्यालयमा टिकाउनुपर्ने जिम्मेवारी चुनौतीपूर्ण छ, तर स्थानिय सरकार र संघसंस्थाको सहयोग भए त्यो पनि सहज हुनेछ ।”

जलवायु मैत्री खेतिपातिको अभ्यास गर्दै गरेका महिला कृषक समुहहरुले विद्यालय जाने उमेरका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर भर्ना अभियान चलाएका हुन् ।

मासिक रुपमा बस्ने बैठकमा समसामयिक समस्याबारे छलफल तथा समाधानका उपाए खोज्ने र सो उपाए अवलम्बनमा जुट्ने गरेका महिलाहरुले यो पटक विद्यालयसम्म बालबालिका पुर्याउने योजनामा काम गरेको बताए ।

सुवर्ण ६ मुसहर्ना स्थित इस्लामिया महिला कृषक समुह र रहमद महिला कृषक समुहले ४० जना बालबालिकाहरुलाई गत आइतबार श्री नेपाल राष्ट्रिय प्रा.वि मुसहर्नामा भर्ना गराएका छन् ।

त्यस्तै सुवर्ण ६ र ८ मझरियाका स्थित ब्रह्मबाबा महिला कृषक समुह र भिष्वामाई महिला कृषक समुहका सदस्यहरुले सोमबार ४५ जना बालबालिकाहरुलाई श्री नेपाल राष्ट्रिय प्रा.वि मझरियामा भर्ना गराएका छन् ।

“गरिबिके बाहाना करके बच्चाके भविष्य बिगाडेवाला अवस्था के सुधारे खातीर आपन आउरी गाँवके भि पढेजाएके उमर भइल सभि लैकाके बहुत खुशिके साथ स्कुल भर्ना करावतानी ।” भन्दै भर्ना अभियान गर्दा समुह सदस्यलाई पनि खुशि लागेको रहमद महिला कृषक समुहकी अध्यक्ष अजमेरा खातुनले बताइन् ।

सामुदायिक उत्थानशिलता सुदृढिकरण (एससिआर) परियोजनाको प्राविधिक सहयोगमा गठित दुवै पालिकाका २० वटा महिला कृषक समुहहरुको अग्रसरतामा यत्तिका बालबालिकालाई विद्यालय भर्ना गराउन सकिएको सामुदायिक परिचालिका हमेशा खातुनले बनाइन् । उनका अनुसार भर्ना भएका बालबालिकाहरु निरन्तर विद्यालय जाउन् भन्नेमा पनि समुहहरुले सचेत रहने योजना बनाएका छन् ।

इस्लामिक रिलिफ नेपाल तथा इस्लामिक रिलिफ क्यानडाको आर्थीक सहयोग तथा जनजागरण युवा क्लब(जेजेवाइसि) बाराको अयोजनामा महागढीमाई नगरपालिकाको वडा नं. १,२ र ८ तथा सुवर्ण गाउँपालिकाको १,५,६ र ८ मा सामुदायिक उत्थानशिलता सुदृढिकरण(एससिआर) परियोजना सञ्चालन भइरहेको छ ।

Leave a review

This will close in 0 seconds