पहुँचवालाले तिदैनन् ट्राफिकको जरिवाना,अठार लाख जरिवाना उठ्न बाँकी

राम मण्डल
260 पाठक संख्या

ट्राफिक प्रहरीले नियम अनुसार गर्ने जरिवाना स्वरुपको रकम पहुँचवालाले अटेर गरि नतिर्ने गरेको पर्सामा पाइएको छ ।

ट्राफिक प्रहरीले चालकहरुले गरेको गल्तीका कारणले जरिवाना गर्दैै रसिद काटेपनि राजनीतिक सँगै प्रशासनमा पहुँच भएका ब्यक्तिहरुले भने उक्त जरिवाना तिर्नमा अटेर गर्ने गरेको पाइएको छ।

बितेको आर्थिक वर्ष ०८०/८१ मा जिल्ला ट्राफिक प्रहरीले गरेको जरिवानाको साढे अठार लाख भन्दा बढी राजश्व रकम चालकहरुले तिरेका छैनन ।कार्यालयले दिएको तथ्यांक अनुसार बितेको आवमा कुल अठार लाख ८१ हजार ५०१ रुपैयाँ राजश्व बापतको रकम उठन बाँकी रहेको छ ।

बितेको आवमा ट्राफिक प्रहरीले कुल दुई करोड ९५ लाख ५५ हजार नौ सय ५५ रुपैयाँ जरिवाना गरेको थियो ।जसमध्ये दुई करोड ७६ लाख ६१ हजार ९५४ रुपैया जरिवाना बापतको राजश्व उठेको छ ।

जसमध्ये अन्य खातामा १२ हजार पाँच सय गएको ट्राफिक प्रहरीले जनाएको छ ।सवारी साधनलाई कारवाही वापतको राजश्व रसिद काटेर उनीहरुको कागजातहरु नियन्त्रणमा लिए पनि सम्बन्धित ब्यक्तिले अटेर गरी राजश्व रकम नै नबुझाएका कारणले अठार लाख भन्दा बढी राजश्व उठन एक बर्षमा बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले साझेदारी दैनिकलाइ जानकारी दिए ।

पहुँच भएका ब्यक्तिहरुले कारवाही स्वरुप काटिएको रसिदको रकम छुट हुने आश गरेर राजश्व रकम नै नतिर्ने गरेको उनले बताए । पहुँच राख्ने ब्यक्तिहरुले राजश्व बापतको रकम नतिर्ने गरेकाले एक बर्षमा ट्राफिक प्रहरीले उठाउने ठुलो रकम बक्यौता रहेको खतिवडाको भनाई छ ।

बितेको आवमा पर्सा ट्राफिक प्रहरीले एक सय ७६ वटा सवारी साधनलाई कारवाही गरेको थियो । उसले कुल २० लाख ८२ हजार चार सय ३६ बराबरको राजश्व उठाएर यातायात कार्यालयलाई दिएको खतिवडाको भनाई छ ।

Leave a review

This will close in 0 seconds