बिल बिजक भन्दा बढीको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
339 पाठक संख्या

कलैया : बारा तथा पर्सा प्रहरीले लाखौंको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ। बारा प्रहरीले बिल बिजक भन्दा बढीको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोकबाट सो ट्रक नियन्त्रणमा लिएको हो।

वीरगंजबाट चितवन तर्फ जादै गरेको ना २ क ६७६ नम्बरको मिनि ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढीको सामानसहित आइतबार ट्रक नियन्त्रणमा लिइएको हो ।

सो ट्रकमा लोड रहेको बदाम दाना,जिरा,मेथि,नारिवल र अन्य खुद्रा समानहरूको सपोर्टिङ विल नभएको अन्दाजी मूल्य रू. १५ लाख ४० हजार २ सय ८० रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोमबार विज्ञप्ति गरी जानकारी दिएका छन्।

यस्तै प्रहरीले वीरगञ्जबाट बदाम लोड गरेको एउटा ट्रक पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा जाँचको क्रममा बदाम लोड भएको ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा म.प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रकमा बिल बिजक भन्दा बढी बदाम लोड रहेको पाइएको प्रहरीको दाबी छ ।

नियन्त्रणमा लिइएको ट्रकमा ६६ लाख २४ हजार ३४ रुपैया बराबरको बदाम लोड रहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए ।

Leave a review

This will close in 0 seconds