राजन कुमार बानिया/
पर्साको धोविनि गाउँपालिकामा वडा नम्बर २ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत १ वर्षदेखी बन्द रहेको प्रसुति सेवा पुनः सुचारु भएको छ ।
जनशक्तिको अभावका कारण बन्द रहेको प्रसुति सेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारको विशेष पहलमा पुनः सुचारु भएको हो ।
प्रसुती सेवा बन्द हुँदा उक्त क्षेत्रका सुत्केरी महिलाहरुलाई प्रसुति गराउन वीरगञ्ज आउनुपर्ने बाध्यता रहेको थियो । वडा न. १ की स्थानीय एक महिलाले प्रसुति गृहमै आएर सन्तान जन्माएसँगै बुधवारबाट सेवा सुचारु भएको स्थानीयले बताएका छन ।
स्थानीय बुद्धिजिविको चौतर्फी माग पश्चात गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार रौनियारको विशेष पहलमा गाउँपालिकाले नर्सको भर्ना आह्वान गरेपछि अहिले करारमा ४ जना नर्सलाई नियुक्ती गरेर प्रसुति सेवा सुचारु गरिएको गाउँपालिकाले जानकारी गराएको छ ।
उक्त १५ बेडको स्वास्थ्य चौकीमा प्रसुति सेवा शुरु भएसँगै भारतको बिहारदेखी पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिकालगायतका महिलाहरुलाई अब वीरगञ्ज आउनुपर्ने बाध्यताबाट छुटकारा धोविनीका नेपाल कम्युनिष्ट पार्टीका युवा नेता सन्तोष पटेलले बताएका छन ।
स्वास्थ केन्द्रले दिशा, पिसाव र खकारको परीक्षण जस्ता सेवाहरु पहिलादेखि नै दिँदै आएको छ । गाउँपालिका अधिकृत रौनियारको पहलमा केही दिनभित्रै एक्सरेलगायत अन्य जनरल सेवाहरु पनि सुचारु हुनेभएपछि स्थानीयहरुले खुशि व्यक्त गरेका छन।