सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन

राम मण्डल
530 पाठक संख्या

वीरगञ्ज। नव जन्म सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै कलैयामा आइतबार बिरोध प्रदर्शन गरिएको छ।

कलैया उपमहानगरपालिका–१ स्थित सो सुधार केन्द्रमा कुटपिट गरी हत्या गरिएका युवक प्रदिपप्रसाद मण्डलका परिवार र स्थानीयले बिरोध प्रदर्शन गरेका हुन्।

मृतक मण्डलका परिवारजन र स्थानीयले उनीहरुले संचालकलाई पक्राउ गर,पीडितलाई न्याय दे,दोषी हत्यारालाइ फासी दे,पीडितलाई न्याय दे,थप सिसिटिभी फुटेज सार्बजनिक गर लगायतका नाराहरु लगाउदै कलैया बजार परिक्रमा गरेका हुन्।

बिरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा पुगि पीडित परिवारले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए।

सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएको घटनामा प्रहरीले अभियुक्तहरुलाइ पक्राउ गरेको ज्ञापनपत्रमा उल्लेख छ।

केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ नगरिएको भन्दै उनलाई पनि पक्राउ गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत पीडित परिवारले गरेका हुन्।

पीडित परिवारसित कुराकानी गर्दै बाराका एसपी सन्तोष तामाङले अभियुक्तहरुलाइ पक्राउ गरि सकिएकोले उनीहरुलाई कानुन बमोजिम सजाय हुने जनाए।

केन्द्र भित्रै कुटपिट गरिएको सिसिटिभी लगायतका प्रमाणहरु बरामद गरि घटनाको अनुसन्धान सहज तरिकाले प्रहरीले गरिरहेको उनले जनाए।

सुधार केन्द्रका संचालक घटनास्थलमा घटनाको समयमा नभएको यद्यपि उनिसित सम्पर्क गर्ने कार्य भने भइरहेको तामाङले जानकारी दिए ।

बिहीबार राती सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका–९ रामपुर निवासी प्रदिप प्रसाद मण्डलको केन्द्र भित्रै केही ब्यक्तिहरुले कुटपिट गरि हत्या गरेका थिए ।

हत्यामा संलग्न रहेको आरोपमा सातजनालाई बारा प्रहरीले तत्कालै पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

पीडित परिवारसित भेट गर्दै बाराका जसपा नेपालका नेता पूर्व सांसद रामबाबु कुमार यादवले दोषीलाइ कारवाहीको माग गर्दै सोमबार आफुले पनि प्रशासनलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए।दोषीलाई कानुन बमोजिम सजाय हुनेमा ढुक्क रहन पनि पीडित परिवारलाई उनले भने।

Leave a review

This will close in 0 seconds