नवौ निर्वाचन दिवसको अवसरमा निर्वाचन आयोगका प्रमुख आयुक्तले दिए शुभकामना

साझेदारी दैनिक
292 पाठक संख्या

कठमाण्डौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नवौं निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसरी शुभकामना दिएका हुन्।

विक्रम सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै शुभकामना दिइएको हो। राष्ट्रिय प्रजातन्त्र दिवस सँगसँगैं “निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता” भन्ने मूल नाराका साथ नवौं निर्वाचन दिवस मनाइरहेको उनले प्रेस विज्ञप्तिमा जनाएका हुन्।

यस शुभ अवसरमा सम्पूर्ण नेपाली मतदाताहरूमा निर्वाचन दिवसको हार्दिक शुभकामना दिन चाहन्छु,उनले प्रेस विज्ञप्तिमा लेखेका छन्। आयोगलाई निरन्तर हौसला र प्रेरणा प्रदान गर्नुहुने अग्रज एवम् शुभेच्छुकप्रति सम्मान प्रकट गर्दै निर्वाचन प्रक्रियामा आयोग सँगसँगै क्रियाशील रहने मतदाता लगायत सबै सरोकारवालाको अमूल्य योगदानको प्रशंसा गर्न चाहन्छु।

इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अंगिकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दछु।

वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको आवधिक निर्वाचन,तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन,राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचनहरू मार्फत् जनप्रतिनिधिहरू निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ।

यसरी सम्पन्न निर्वाचनको माध्यमबाट मतदाताले आफ्नो गोप्य मतदानद्वारा रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन हुनुले संवैधानिक गतिशिलता तथा नागरिक अधिकारको वैधता र सुनिश्चितता प्रगाढ भएको छ। निर्वाचन दिवसको अवसरमा म कुनै पनि निर्वाचन पद,पैंसा र प्रलोभनले प्रभावित हुनुहुँदैन,निष्ठा,विचार,सिद्धान्त र सदाचारिताबाट निर्देशित हुनुपर्दछ भन्ने आयोगको मान्यतालाई स्मरण गराउँदै निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवम् निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु भनेर उनले प्रेस विज्ञप्तिमा लेखेका छन्।

निर्वाचन जनताको सर्वाधिक सहभागिता र सरोकार अपेक्षित हुने गतिविधि भएको हुनाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ। मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गराउनेदेखि कुनै प्रभाव र प्रलोभनमा नपरी योग्य र इमान्दार उम्मेदवार रोजेर गोप्य मतदान गर्नेसम्मका कार्यमा मतदाताको महत्वपूर्ण भूमिकालाई हृदयङ्गम गर्दै यस वर्षको निर्वाचन दिवसको नारा “निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता” तय गरिएको छ।

निर्वाचन दिवसको यस नारालाई सार्थक बनाउन संवैधानिक एवम् कानूनी दायित्वका साथै आयोगबाट कार्यान्वयनमा ल्याइएको चौथो पञ्चवर्षीय रणनीतिक योजना,निर्वाचनमा नागरिक संलग्नता नीति, निर्वाचन व्यवस्थापनका लागि सञ्चार नीति,निर्वाचन तथा मतदाता शिक्षा नीति एवम् स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि बमोजिम आगामी दिनमा आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिवद्धता समेत उनले प्रेस विज्ञप्तिमा व्यक्त गरेका छन्।

निर्वाचनमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर आँगनसम्म नै निर्वाचन तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजानेछ। मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्ने कार्यलाई स्थानीय तहको साझेदारी र सहकार्यमा अगाडि बढाइने उनले जानकारी दिएका हुन्।

यसका अतिरिक्त राजनीतिक दल,आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद गर्दै आम नागरिकको निर्वाचनमा अधिकाधिक सहभागिता र विवेकपूर्ण निर्णय,राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको सुदृढीकरण,सरोकारवालाको साझेदारी र सहकार्य,निर्वाचन आचारसंहिताको परिपालना लगायतका आयोगको उच्च प्राथमिकतामा रहेका विषयहरूमा नीतिगत,प्रक्रियागत र संरचनागत सुधारका प्रयासलाई थप घनीभूत बनाउँदै लगिने उनले प्रेस विज्ञप्तिमा भनेका छन्।

आयोगको संस्थागत सुदृढीकरण,प्रविधियुक्त निर्वाचन व्यवस्थापन,निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार समेतबाट नागरिक सहभागिता अभिवृद्धि मार्फत् निर्वाचन प्रणालीका अन्तर्निहित चुनौतीहरूको सम्बोधनमा सहयोग पुग्न गई आगामी दिनमा निर्वाचन व्यवस्थापन थप पहुँचयोग्य र नागरिकमैत्री हुनेछ भन्ने विश्वास आयोगले लिएको जनाइएको छ।

सन् २०२४ विश्व निर्वाचन वर्षका रूपमा रह्यो। यसै वर्ष भारत,अमेरिका,रुस,श्रीलंका,इन्डोनेशिया,दक्षिण कोरिया लगायत विश्वका ७४ राष्ट्रहरूमा निर्वाचन सम्पन्न भए। यस अवधिमा विभिन्न देशमा सम्पन्न निर्वाचनको आयोगबाट भएको अवलोकन तथा पर्यवेक्षणले निर्वाचन व्यवस्थापन सुधारमा महत्वपूर्ण उर्जा र मार्गदर्शन प्राप्त भएको छ।

यसै अवधिमा भाद्र १९ र २० गते काठमाडौंमा सम्पन्न दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायहरूको साझा मञ्च –ँभ्ःद्ययक्ब् को १२औं सम्मेलनपछि अध्यक्षको भूमिकामा रही आयोगले निर्वाचन व्यवस्थापनमा आप्रवासन,जलवायु परिवर्तन,सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता तथा प्रविधिको प्रयोगको विषयलाई गम्भीरतापूर्वक अगाडि बढाएको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

निर्वाचन व्यवस्थापनको सुदृढीकरणका दिशामा अन्तर्राष्ट्रिय जगतसँगको सहकार्यले आयोगको कार्यक्षमता र साख अभिवृद्धि गर्न सहज भएको मैंले महसुस गरेको छु उनले प्रेस विज्ञप्तिमा भनेका हुन्। आयोगलाई सबै सरोकारवालाबाट निरन्तर प्राप्त सहयोग, शुभेच्छा र सद्भावले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन व्यवस्थापन गर्ने आयोगको संवैधानिक जिम्मेवारी अझै सशक्त,व्यवस्थित,पारदर्शी र प्रभावकारीरूपमा निर्वाह गर्न हौसला र प्रेरणा प्राप्त भएको छ। निर्वाचन आयोग असल अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुशरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन कृतसंकल्पित छ।

अन्त्यमा नवौं निर्वाचन दिवस, २०८१ का अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा प्रत्यक्ष वा परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। निर्वाचन दिवसको उपलक्ष्यमा आयोगबाट प्रकाशित निर्वाचन स्मारिकामा आफ्ना महत्वपूर्ण विचारसहित लेख रचना उपलब्ध गराई दिनुहुने लेखकहरूप्रति आभार व्यक्त गर्दछु। निर्वाचन आयोग र अन्तर्गत कार्यालयमा रही निर्वाचन व्यवस्थापनका कार्यमा उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने कर्मचारीहरूलाई हार्दिक बधाई दिन चाहन्छु।

साथै, वि.सं. २०७७ सालदेखि २०८१ सालसम्म सम्पन्न निर्वाचनहरूको वृत्तान्त समावेश गरी नेपालको निर्वाचन इतिहास भाग ३ प्रकाशित भएको यस घडीमा उक्त निर्वाचनहरू स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन राजनीतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, गैरसरकारी एवं निजी क्षेत्र, नेपालस्थित कुटनीतिक नियोगहरू, पर्यवेक्षक लगायत निर्वाचनका क्षेत्रमा क्रियाशील निकाय एवं व्यक्तिहरू, संचार जगत र आम नागरिकले पु¥याउनु भएको योगदानको स्मरण गर्दै सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु थपलियाले शुभकामना सन्देशमा लेखेका छन्।

Leave a review

This will close in 0 seconds