बारामा मधेश प्रदेशको पूर्वाधार विकास योजना प्रभावित योजना किनबेच,कार्यान्वयनमा ढिलाइ र गुणस्तरमा प्रश्न ?

रञ्जन यादव
582 पाठक संख्या

जीतपुर : मधेश प्रदेशको बजेटमा समेटिएका पूर्वाधार विकास योजना अहिले बिचौलियाको चपेटामा परेका छन्।

विशेष गरी पूर्वाधार विकास कार्यालय बारामा योजनाको कमिसनमा किनबेच हुने प्रवृत्तिले जरा गाडेको देखिन्छ ।

स्थानीय स्रोतका अनुसार योजना कार्यान्वयन गर्नुको साटो बिचौलियाहरूले योजना ‘बेच्ने’ प्रक्रिया अघि बढाएका छन्। उनीहरूले ठेकेदारसँग कमिसनको दर नमिल्दासम्म योजना अघि नबढाउने प्रवृत्तिले कामको गुणस्तरमा प्रश्न उठाएको छ ।

यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने सिमरा धर्मशाला देखि बौद्ध गुम्बासम्म नाला सहितको सडक स्तरोन्नति योजनाको उपभोक्ता समिति गठनका लागि एक जना बिचौलिया पत्र लिएर तीन महिनाअघि अघि बढेका थिए।

तर उक्त रु.५० लाखको योजना कार्यान्वयनको सट्टा योजनाको पत्र पाएको बिचौलिया ठेकेदार खोज्न वा कमीसनको मोरमोलाईमा ब्यस्त भईदिँदा,योजनाले गति लिन सकेको थिएन् । पछि उक्त योजनाको पत्र पुर्बधार बिकास कार्यालय बाराले अर्कोलाई दिँदा उक्त बिचौलिया हस्याङफस्याङ्ग गर्दै पुरानो पत्र लिएर जीतपुरसिमरा उपमहानगरपालिकामा पत्र दर्ता गराएका थिए ।

उपमहानगरपालिकामा दुई वटा पत्र एउटै मिती र एउटै चलानी नम्बरको प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र साहले पनि बिचौलियाको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार सो योजना सम्बन्धी पत्रमा उनले ‘ओ.सी.’ (कारबाही अघि बढाउने स्वीकृति) दिएर अर्को सम्वद्ध पक्षलाई पठाएका थिए।

“बिचौलियाको बिगबिगी मेरो टाउँको दुखाइ बनेको छ,” उनले बताए। साथै, योजना किनबेचको परिपाटिले काम गुणस्तरहिन हुने र तोकिएको समयमा सम्पन्न नहुने अवस्था सृजना भएको भन्दै चिन्ता व्यक्त गरे ।

केहि दिन अगाडि मात्र जीतपुरसिमरा उपमहानगलिकामा योजना लिएर आउँने बिचौलियाको बिगबिगी बढेपछि,नगर प्रमुख बाध्य भएर मधेश प्रदेशका मुख्य मन्त्रीलाई पत्र लेख्न बाध्य भएका थिए ।

स्थानीय स्तरमै योजना ‘दलालीकरण’ हुन थालेपछि प्रदेश सरकार र सम्बन्धित निकायले कडा निगरानी र पारदर्शिता अपनाउने नीतिको खाँचो देखिएको छ। अन्यथा, बजेट त सकिन्छ, तर विकासका सपना अधुरा नै रहनेछन्।

Leave a review

This will close in 0 seconds