कलैया : बाराको कलैया स्थित भरत चोकमा मा प्रेस सेन्टर नेपाल बाराले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवस दीप प्रज्वलन गर्दै मनाएको छ ।
जिल्ला अध्यक्ष रञ्जन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालमा आबद्ध पत्रकार,साहित्यकार,मानव अधिकारकर्मी तथा अन्य सहभागीहरूले इच्छुकको योगदानमाथि चर्चा परिचर्चा गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले कृष्ण सेन इच्छुकले पत्रकारिता, साहित्य र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै उहाँको बलिदानले नेपाली समाज रूपान्तरणमा ऐतिहासिक भूमिका खेलेको बताएका थिए।
माओवादिले गरेको जनयुद्धको समयमा प्रहरी हिरासतमा रहेकै अवस्थामा इच्छुकको हत्या गरिएको थियो। पटक(पटक गरी करिब १० वर्षसम्म उनलाई विभिन्न कारागारहरूमा राखी यातना दिइएको थियो। वि.सं. २०५९ साल जेठ ६ गते पक्राउ परेका इच्छुकलाई महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय यातना दिएर जेठ १३ गते हत्या गरिएको थियो।
प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रञ्जन यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता,मधेश प्रदेश सचिव रमेश शाह ,जिल्ला उपाध्यक्ष प्रिंयाका सराफ,कोषाध्यक्ष शर्मालाल बैठा लगायतको सहभागित रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराका सचिव अखिलेश यादबले गरेका थिए ।

