तराई मधेशको लोक संस्कृति झल्किने झिझिया पर्व सुरु

राजेश कुशवाहा
375 पाठक संख्या

कलैया । नवरात्रको व्रतसंगै तराई मधेशको लोक संस्कृति झल्किने झिझिया पर्व बारामा शुरु भएको छ ।

जिल्लाको १६ पालिकाका हिन्दु धर्मावलम्बी महिलाहरुले झिझिया पर्व मनाई रहेका छन । खईबे त खोई डईनी कोतरा मझरिया, ना खईबे कोतरा चिबईए अपन भतरा लगायतको परम्परागत झिझिया गित गाउदै तराई मधेशका किशोरी तथा महिला झिझिया पर्व धुमधामसंग मनाईरहेको कलैया उपमहानगरपालिका वडा नम्बर १७ की गायत्री देवीले बताईन ।

घटस्थापना अर्थात सोमबार राति देखी विधिवत सुरु भएको यो परम्परागत पर्व नौरथा भरी खेलिने गरिन्छ । प्रत्येक वर्ष घटस्थापना देखी बिजया दशमी सम्म नौरथामा यो पर्व मनाईन्छ । तराईको यो मौलीक पर्वको रुपमा विशेष गरी ग्रामिण भेकका किशोरीहरुको सहभागिता बढी हुन्छ ।

टोल–टोलका किशोरीहरु समुह बनाई सामुहिक रुपमा झिझिया गित गाउने र नृत्य गर्ने गर्छन । कुनै कुनै गाउमा एक दर्जन सम्म यस्ता समुह बन्ने गरेको र समुहहरु एक आपसमा प्रतिस्पर्धा समेत गर्ने गरेको कलैया उपमहानगरपालिकाकी बिन्दु कुशवाहाले बताईन ।

नौरथामा कथित बोक्सी र तान्त्रिकहरुले आफ्नो मन्त्र सिद्ध र प्रयोग गर्ने हुदा तिनको प्रकोप कम गर्न यसरी झिझिया गित र नृत्य आयोजना हुने गरेको जनविश्वास रहेको छ ।

जुन गाउ“ टोलका किशोरीले यस्तो गित– नृत्यको आयोजना गर्छन त्याहा“ बोक्सीको तन्त्रमन्त्रको कुनै असर नपर्ने परम्परागत विश्वास रही आएको उनले जानकारी दिए ।झिझिया खेल्न माटोको गाग्रो (घैला) मा असंख्य छिद्रा (प्वाल) बनाईन्छ उनले बताईन ।

गाग्रो भित्र माटोको दियो बालेर गाग्रोलाई टाउकोमा बोकेर रातको समयमा किशोरीहरुको समुह गाउँ टोलका सबै घर दैलोमा पुगी नाच गान गर्छन । गाउलेहरु किशोरीहरुले झिझिया खेलेको दृश्य घण्टौ सम्म अभिरुची पुर्वक हेर्ने गर्दछन । त्यस क्रममा किशोरीहरु जसको दैलोमा पुग्छन, त्यस घर धनीले घैला भित्रको दियोमा तेल/मट्टितेल आदि थपी दिन्छन ।

किशोरीहरुलाई प्रोत्साहित गर्न नगद, दक्षिणा, अन्नपात आदि भेटी उपहार दिने चलन समेत रहेको छ ।टाउकोमा बोकेका गाग्रोलाई किशोरीहरुले स्थिर नराखी आफु नाच्दै गाग्रो घुमाई राख्छन् । यस्तो गाग्रोमा रहने छिद्राहरुको गणना भुत, प्रेत, दुष्टात्मा, बोक्सी आदीले गरेमा झिझिया बोकेकी युवतीको ठहरै मृत्यु हुन्छ त्यही डरले युवतीहरु गाग्रो नचाउदै हिडछन बुढापाखाहरुको भनाई छ ।

गाग्रोमा भएको छिद्राको गणना सजिलै गर्ने सम्भावना रहने गर्दा त्यस्तो भए तीनीहरुको प्रकोपले घरमा रोग ब्याध, कलह बढने मान्यता रहेको कलैयाका भनेशवर महतोले बताए । दुष्टात्माको प्रतिकको रुपमा गाउका किशोर युवाहरुले किशोरीहरुले निर्माण गरेको झिझिया फोडने प्रयास गर्ने गरेकाले धेरै सतर्कता पुर्वक युवतीहरु झिझिया गाउ घुमाउने गर्दछन ।

कतिपयले युवतीहरुबाट गिती शैलीमा गाली सुनेर मनोरंजन गर्न युवतीहरुको समुहको झिझिया फुटाई पनि दिन्छन । त्यस क्रममा परेशान भएकी युवतीहरुको समुहले ………‘ जिन मोरा झिझिया पर रोडिया चलईये भरल दसैं मे भोगवे ना पइये हो ’।जस्ता गाली गित गाउदै केटाहरुको समुहलाई लखेटन सुरु गर्छन समातिएको केटालाई कुटाई गर्न पछि पनि पर्दैनन पटेलले भने ।

झिझिया खेल्ने क्रममा किशोरीहरुले बोक्सीलाई सराप्दै आफ्ना दाजु भाईको सुस्वास्थ्य र दिर्घायुको कामना समेत गर्ने गरेको कलैयाकै रामाधार पटेलले बताए । नौरथा अवधी भर झिझिया खेले पछि विजया दशमीको रात झिझिया खेलेको गाग्रोलाई किशोरीहरुले गाउ नजिकको जलाशयमा सेलाउने गर्छन ।

त्यत्ती खेर झिझिया खेलेर जम्मा भएको दक्षिणा अन्नपात आदिले मिठाई, फलफुल किनेर बाडेर खाई रमाईलो गर्ने चलन रहेको उनी बताउछन ।परम्परागत र लोपोन्मुख यस्ता पर्वको संरक्षणका निम्ति सम्बद्ध निकायले विशेष पहल गरेर यिनको जगेर्ना गर्नु पर्छ नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष साह भन्छन । २०५६ सालमा हुलाक विभागले झिझिया नृत्यको संस्कृतिक महत्व झल्किने हुलाक टिकट समेत प्रकाशनमा ल्याएको छ ।

Leave a review

This will close in 0 seconds