कलैया । नौरथा भरी परम्परागत झिझिया गीत गाउदै बाराका ग्रामिण भेगमा बालिका , किशोरी एवम् महिलाले झिझिया पर्व धुमधामसंग सम्पन्न गरेका छन ।
घटस्थापनादेखी विधिवत सुरु भएको यो परम्परागत पर्व नौरथा भरी हर्षोल्लासपूर्ण मनाउदै विजया दशमीको दिन बिहीबार राति विधिवत यो पर्व गाउमा रहेको, नदी, पोखरी लगायतकाको जलाशयमा झिझिया खेलेको घैटो सेलाएपछि समाप्त भएको हो ।
झिझिया पर्वमा टोल–टोलका किशोरीहरु समूह बनाई सामुहिक रुपमा झिझिया गीत गाउने र नृत्य गर्ने गर्छन । नौरथामा बोक्सी र तान्त्रिकहरुले आफ्नो मन्त्र सिद्ध र अत्यधिक प्रयोग गर्ने जनविश्वास रहेकोले तिनको प्रकोप कम गर्न झिझिया पर्वको रुपमा भोजपुरी सस्कृतिमा विकास भएको जनविश्वास रहेको छ ।
जुन गाउँ टोलमा झिझिया शुरु हुन्छ त्यहा बोक्सीको तन्त्रमन्त्रको कुनै असर नपर्ने परम्परागत विश्वास रहेको कलैया १७ की सरस्वती देवीले बताईन् । झिझिया खेल्दा माटोको गाग्रो (घैला) मा (प्वाल) बनाईन्छ। गाग्रो भित्र माटोको दियो बालेर गाग्रोलाई टाउकोमा बोकेर रातको समयमा किशोरीहरुको समुह गाउँ टोलका सबै घर दैलोमा पुगी नाच गान गरेको उनले बताइन्।
टाउकोमा बोकेका गाग्रोलाई किशोरीहरुले स्थिर नराखी आफु नाच्दै गाग्रो घुमाई राख्छन् । यस्तो गाग्रोमा रहने छिद्रहरुको गणना भुत, प्रेत, दुष्टात्मा, बोक्सी आदीले गरेमा झिझिया बोकेकी युवतीको ठहरै मृत्यु हुन्छ जनविश्वास रहेको छ । यसले गर्दा युवतीहरु गाग्रो नचाउदै हिडने गर्छन् । झिझिया खेल्ने क्रममा किशोरीहरुले बोक्सीलाई सराप्दै आफ्ना दाजु भाईको सुस्वास्थ्य र दिर्घायुको कामना समेत गर्ने गर्छन् ।
परम्परागत र लोपोन्मुख यस्ता पर्वको संरक्षणका निम्ति सम्बद्ध निकायले विशेष पहल गरेर यिनको जगेर्ना गर्नु पर्ने संस्कृतिविदहरु औल्याउछन् ।


