नगौलमा निःशुल्क आँखा शिविर सम्पन्न, २८५ सेवाग्राही लाभान्वित

रञ्जन यादव
206 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ स्थित नगौलमा सञ्चालन गरिएको एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सयपत्री युवा क्लब जीतपुरको आयोजनामा तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरको सहकार्यमा आयोजित शिविरबाट २८५ जना सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा गरिएको आँखाको स्वास्थ्य परीक्षणका क्रममा ८५ जनामा मोतिबिन्दु, ५५ जनामा दृष्टिदोष तथा ८ जनामा टेरिजियम (आँखामा मासु बढ्ने समस्या) देखिएको केडिया आँखा अस्पतालका नेत्र सहायक सुदर्शन काफ्लेले जानकारी दिए। मोतिबिन्दु पहिचान भएका बिरामीहरूको लेन्स प्रत्यारोपणसहितको शल्यक्रिया बुधबार र बिहीबार परवानीपुरस्थित केडिया आँखा अस्पतालमा गरिने आयोजकले जनाएको छ।

शिविरमा सहभागी बिरामीहरूलाई आवश्यक निःशुल्क औषधि समेत वितरण गरिएको थियो। शिविरमा अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। टोलीमा डा. शिवशंकर प्रसाद, डा. रामदेव साह, डा. कौशल कर्ण, नेत्र सहायक सुदर्शन प्रसाद काफ्ले तथा राजेश यादव सहभागी थिए।

आँखा शिविरको उद्घाटन प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका–६ का वडा अध्यक्ष कैमुद्दिन अन्सारी, आँखा अस्पतालका चिकित्सकहरू डा. शिवशंकर शाह, डा. कौशल कुमार कर्ण, डा. राजदेव साहलगायतले आँखाको सुरक्षाका लागि अपनाउनुपर्ने सचेतनाबारे आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेकपा एमाले वडा नम्बर ६ का अध्यक्ष फजेल हक अन्सारी, कमरुहोदा अन्सारी, आजिर हुसेन, नेपाली कांग्रेसका फैजल अन्सारीलगायतको उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुदर्शन काफ्लेले गर्नुभएको थियो। सयपत्री युवा क्लब जीतपुरले दृष्टिसम्बन्धी समस्याबाट पीडित विपन्न तथा सेवावञ्चित नागरिकलाई लक्षित गरी यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a review