कोल्हवी : नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज बाराको कोल्हवीमा आयोजना हुने वृहद् चुनावी सभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको छ। उनको आगमन निश्चित भएसँगै क्षेत्रको चुनावी माहोल थप तातिएको छ ।
सभापति थापा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर–१ का उम्मेदवार शम्भु बहादुर बुढाथोकीको समर्थनमा आयोजित सभामा सहभागी हुन लागेका हुन्। पार्टीभित्र भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चा गरिँदै आएका थापाको उपस्थितिले चुनावी अभियानमा नयाँ ऊर्जा थप्ने काँग्रेसजनको अपेक्षा छ।
मञ्च व्यवस्थापन संयोजक रामनाथ चौधरीका अनुसार सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सभा स्थल सजावट, मञ्च निर्माण, साउण्ड सिस्टम जडान, अतिथि सत्कार, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालनका काम तीव्र गतिमा अघि बढाइएको छ।
“हजारौँ कार्यकर्ता र सर्वसाधारणलाई व्यवस्थित रूपमा सहभागी गराउने तयारीमा छौँ,” संयोजक चौधरीले बताए, “सभापति ज्युको उपस्थितिले बारा–१ को चुनावी अभियानमा थप उत्साह र ऊर्जा थप्ने विश्वास गरेका छौँ।”
कोल्हवी नगरपालिका–१ नयाँ बजारस्थित प्रांगणमा हुने सभामा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूको समेत सहभागिता रहने जनाइएको छ। कार्यक्रममा सभापति थापाले समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र सुदृढीकरण, सुशासन तथा विकासका एजेन्डाबारे धारणा राख्ने कार्यक्रम रहेको छ। त्यसैगरी उम्मेदवार बुढाथोकीले क्षेत्रको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विस्तारसम्बन्धी आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने काँग्रेस क्षेत्रीय समितिले जनाएको छ।
उक्त सभामा बारा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गतका विभिन्न पालिका र वडाबाट ठूलो संख्यामा नेता–कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता रहने अपेक्षा गरिएको छ। यसैगरी शानिवार नै सभापति थापाले बाराको निर्वाचन क्षेत्र नम्बर ४ को प्रसौनीमा पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

