बारा-३ मा रास्वपा उम्मेदवार अरविन्द साहको घरदैलो अभियान तीव्र

साझेदारी डेलि
341 पाठक संख्या

बारा। बारा निर्वाचन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार ई. अरविन्द साहले पछिल्ला दिनहरूमा विभिन्न टोल–टोलमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता र योजनाबारे जानकारी गराइरहेका छन्।

घरदैलोका क्रममा साहले चुनावी समयमा मात्रै जनतामाझ पुग्ने राजनीतिक संस्कार परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरे। “जितेपछि पाँच वर्ष नदेखिने प्रवृत्ति अन्त्य हुनुपर्छ। मेरो पहिलो प्राथमिकता जनताको विश्वास फर्काउने र काममार्फत राजनीति प्रमाणित गर्ने हो,” उनले भने।

उनले बाराको विकासका लागि पाँच मुख्य एजेन्डा अघि सारेको बताएका छन्। तीमध्ये रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासनलाई प्रमुख रूपमा जोड दिएका छन्।

साहका अनुसार बारामा उद्योग स्थापना र विस्तारको सम्भावना भए पनि नीतिगत जटिलता र पूर्वाधार अभावका कारण अपेक्षित लगानी भित्रिन नसकेको अवस्था छ। संसदमा पुगेपछि उद्योगमैत्री वातावरण निर्माणका लागि पहल गर्ने उनको भनाइ छ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।

कृषि क्षेत्र सुदृढीकरणका लागि बजार व्यवस्थापन, भण्डारण र प्रविधि विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए। किसानले उत्पादनको उचित मूल्य नपाउने समस्या समाधान गर्दै कृषि र उद्योगलाई जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने योजना रहेको साहले बताए।

साथै सुशासन र पारदर्शितालाई आफ्नो अभियानको केन्द्रमा राखेको उल्लेख गर्दै उनले खर्च, योजना र निर्णय प्रक्रियालाई सार्वजनिक गर्ने अभ्यास आवश्यक रहेको धारणा राखे। देशमा नयाँ राजनीतिक सोच आवश्यक रहेको साहले बताए।

Leave a review

This will close in 0 seconds