जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ को नवनिर्मित सुविधा सम्पन्न वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनको उद्घाटन बारा क्षेत्र नं. ४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र नगर प्रमुख राजन पौडेलले संयुक्त रूपमा गरेका हुन्।
वडा अध्यक्ष कैमुदिन अंसारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। यसअघि भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ।
करिब ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा पाँच वटा कोठा, एक भान्सा कोठा तथा महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ। भवन निर्माणका लागि आवश्यक एक कठ्ठा ५ धुर जग्गा वीरगञ्ज महानगरपालिका–१४, बहुवरी पर्साका बदरुल होदा अंसारी र समिम रेयाज अंसारीले उपलब्ध गराएका थिए। उनीहरूको योगदानको कदरस्वरूप दोसल्ला ओढाई सम्मान तथा कदरपत्र प्रदान गरिएको वडा अध्यक्ष अंसारीले जानकारी दिए।
नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत डमरु निरौलाको समेत विशेष उपस्थिति रहेको थियो। वडा कार्यालय भवन निर्माण कार्य करिब एक वर्षमा सम्पन्न भएको हो ।

