कलैया उपमहानगरपालिकामा अनियमितताको अर्को पराकाष्टा : एउटै समूहलाई तीन कार्यक्रम, सञ्चालन पनि एउटै घरबाट

साझेदारी डेलि
137 पाठक संख्या

कलैया । आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च गर्ने चटारोमा रहेको कलैया उपमहानगरपालिकाले सीपमूलक तालिमका नाममा कार्यक्रम वितरण गर्दा पारदर्शिता र प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। नगर तथा वडा स्तरका तीनवटा फरक तालिम कार्यक्रम एउटै भवनबाट सञ्चालन भइरहेको भेटिएपछि कार्यक्रम वास्तविक रूपमा सञ्चालन भएका हुन् कि बजेट सक्ने माध्यम मात्र बनेका हुन् भन्ने आशंका बलियो बनेको छ।

कलैया–१ स्थित प्रवीण प्रेस नजिकको एउटा निजी घरमा नगरस्तरीय ब्युटिसियन तालिम, नगरस्तरीय एडभान्स सिलाइ–कटाइ तालिम र वडा स्तरीय क्रिस्टल माला बनाउने तालिम एकैसाथ सञ्चालन गरिएको पाइएको छ। तीनवटै कार्यक्रमको कुल बजेट झण्डै ११ लाख रुपैयाँ पुगे पनि स्थलगत अवलोकनका क्रममा सहभागीको उपस्थिति, प्रशिक्षकको योग्यता तथा कार्यक्रम व्यवस्थापनमा अनेक प्रश्न देखिएका छन्।

उपमहानगरपालिकाले २ लाख ९८ हजार ८८५ रुपैयाँमा सञ्चालन गराएको ४५ दिने ब्युटिसियन तालिममा २० जना सहभागी रहने सम्झौता भए पनि शुक्रबार स्थलमा १० जना मात्र भेटिए। अझ तालिम सञ्चालनका लागि आवश्यक दक्षता तथा मान्यता प्राप्त प्रमाणपत्र पेश नगरेकी प्रशिक्षकबाट कार्यक्रम सञ्चालन भइरहेको तथ्यले थप शंका जन्माएको छ।

यस्तै २ लाख ९७ हजार १९० रुपैयाँ बजेटको क्रिस्टल माला बनाउने तालिमको अवस्था झन् कमजोर देखियो। कार्यक्रम सञ्चालन अवधिमै अनुगमन गर्दा न प्रशिक्षक भेटिए, न सहभागी। कार्यक्रम कागजमा मात्र चलिरहेको हो कि भन्ने प्रश्न स्थानीयले उठाउन थालेका छन्।

सबैभन्दा ठूलो बजेट रहेको ४ लाख ९७ हजार ७६५ रुपैयाँको एडभान्स सिलाइ–कटाइ तालिममा पनि सम्झौताअनुसारको सहभागिता देखिएन। १२ जना सहभागी हुनुपर्नेमा ८ जना मात्र उपस्थित थिए। अझ कार्यक्रम सञ्चालन गरिरहेकी प्रशिक्षक नेहा कुमारी गिरि आफैं एउटा कार्यक्रमको सम्झौताकर्ता संस्थाकी अध्यक्ष समेत रहेको तथ्य बाहिरिएको छ।

तालिममा प्रशिक्षकका आफन्त र निकट व्यक्तिहरूको सहभागिता देखिनु, एउटै व्यक्तिको नाम फरक–फरक कार्यक्रममा जोडिनु तथा कार्यक्रम सञ्चालनको जिम्मेवारी सीमित समूहभित्र केन्द्रित हुनु संयोग मात्र हो कि योजनाबद्ध पहुँचको परिणाम हो भन्ने प्रश्न उठ्न थालेको छ। अचम्मको कुरा, लाखौं रुपैयाँ खर्च हुने तीनवटै कार्यक्रम एउटै स्थानमा सञ्चालन भइरहँदा सम्बन्धित शाखाले नियमित अनुगमनसमेत गरेको थिएन।

यता सामाजिक विकास शाखाका प्रमुख तपसी प्रसाद चौरसियाले कार्यक्रमको बीच अवधिमा अनुगमन गर्न नसकेको स्वीकार गरेका छन्। प्रशिक्षकको योग्यता प्रमाणित गर्ने कागजात समेत सम्झौताको समयमा नलिइएको उनको स्वीकारोक्तिले निगरानी संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ। “गल्ती भएको छ, अब प्रमाणपत्र हेरेर मात्रै भुक्तानी हुन्छ,” शाखा प्रमुख चौरसियाले भने।

यता प्रशिक्षकहरू भने सहभागीहरू व्यक्तिगत कारणले अनुपस्थित भएको दाबी गर्दै कार्यक्रम नियमित सञ्चालन भइरहेको बताउँछन्। तर लाखौं रुपैयाँका कार्यक्रम चलिरहेको भनिएको स्थानमा अपेक्षित गतिविधि नदेखिनु र अनुगमनको अभाव रहनुले उपमहानगरपालिकाको लक्षित वर्ग कार्यक्रमको प्रभावकारितामाथि प्रश्नचिन्ह खडा गरेको छ।

आर्थिक वर्षको अन्तिम महिनामा तालिम, गोष्ठी र सीप विकासका कार्यक्रममार्फत बजेट खर्च गर्ने पुरानो प्रवृत्तिबारे बेला–बेला प्रश्न उठ्ने गरेको छ। कलैयाको यो घटनाले पनि लक्षित वर्गका नाममा विनियोजित बजेट वास्तविक लाभग्राहीसम्म पुगेको छ कि सीमित पहुँचवालाको घेराभित्र मात्र घुमिरहेको छ भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ।

Leave a review

This will close in 0 seconds