बारा । बाराको कलैया उपमहानगरपालिका-११ घोघरियामा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६:३० बजे सन्तोष पासवानकी अन्दाजी ६ वर्षीया छोरी राधिका कुमारी पासवान पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइ ईसिजी गर्दा साँझ ७:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायव निरीक्षक विमलेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा सोकोसहित मुचुल्का टोली समेत खटिएको थियो ।
मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।


