Sajhedari Daily
Latest News from Nepal

गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प- मन्त्री श्रेष्ठ

कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि उत्पन्न भएको अहिलेको परिस्थितिलाई निर्वाचनले हल दिनसक्ने भएकाले ताजा जनादेशमा जान सबै राजनीतिक शक्तिहरू तयार हुनुपर्ने बताउनुभयो । सरकार निर्धारित समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिन तयार रहेको उल्लेख गर्नुहुँदै उहाँले सडक आन्दोलनबाट मुलुकले निकास नपाउने भएकाले निर्वाचनमा जुट्न दलहरूसँग आग्रह गर्नुभयो ।

नेकपाभित्रकै केही नेताहरूको स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउनुहुँदै उहाँले प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोप कपोकल्पित रहेको दाबी गर्नुभयो ।

यसैबीच अनेरास्ववियुको भेलाले सुदन कुसियैतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।(रासस)

Comments are closed.