बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा सरकार र पीडित पक्षबीच गृह मन्त्रालयमा तीनबुँदे सहमति भएपछि गरिमाकी बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका छन्।
निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कारबाहीको माग गर्दै केही दिनदेखि शव बुझ्न अस्वीकार गर्दै आएको परिवार सरकारको लिखित प्रतिबद्धतापछि शव बुझ्न तयार भएको हो।
शनिबार राति गृह मन्त्रालयमा गृहमन्त्रीसहित पाँच मन्त्री तथा सांसदको उपस्थितिमा भएको छलफलमा कानुन पुनरावलोकनका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेलगायत विषयमा सहमति भएको थियो।
सहमति कार्यान्वयन हुने प्रतिबद्धतापछि परिवारले आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बालिकाको अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
अस्पतालबाट शव बुझेर अन्तिम संस्कारका लागि कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलातर्फ लैजाँदा पीडितका आफन्त, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।


