Sajhedari Daily
Latest News from Nepal

चेपाङ विद्यार्थीहरुलाई आवासीय सुविधा सहित निशुल्क शिक्षा नगरपालिकाले दिन्छ ः मेयर खनाल

नवराज चौलागाईं /
अतिविपन्न सुचिमा रहेका अल्पसंख्यक चेपाङ समुदायका विद्यार्थीहरुलाई नगरपालिकाले आवासीय सुविधा सहित आधारभूत तहको शिक्षाको निशुल्क व्यवस्था गर्ने निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालले बताएका छन ।

‘वडा नम्बर १३ डम्मरपुर स्थित शिव शक्तेश्वर आधारभूत विद्यालयको ५२ औ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खनालले चेपाङ समुदायका विद्यार्थीहरुको लागि नगरपालिकाले आवस गृहको निर्माण गर्न लागेको बताए ।

नगरप्रमुख खनालले नगरपालिकाले चालु आर्थिक वर्ष मै आवास निर्माण कार्य शुरु गर्ने गरी प्रक्रिया अघि बढाएको जनाए । मजदुरीको शिलशिलामा चेपाङ समुदायका अभिभावकहरुले आफ्ना बालबच्चालाई समेतसंगै श्रमको लागी लैजाने भएकोले उनीहरुको अध्ययनमा असर परेको बताउदै नगरप्रमुख खनालले आवस सहितको निशुल्क शिक्षा दिइने व्यवस्थाको अवधारणा अघि सारेको बताए ।

उनले यसै शिव शक्तेश्वर आधारभूत विध्यालयमा चेपाङ आवास निर्माण गर्ने योजना रहेको बताए । ‘आवश गृह सहितको अध्यापनको व्यवस्था गरेपछि चेपाङ समुदायको अध्यापनमा चासो बढ्ने अनुमान गरिएको नगरप्रमुख खनालले जानकारी गराए ।

आवास गृहमा विद्यार्थीहरुको लागी खाना सहित शैक्षिक सामग्री लगायत अन्य आवश्यक सामग्रीहरुको नगरपालिकाले नै व्यवस्था गर्ने पनि खनालले बताए ।

आधारभूत तहको अध्ययन गर्दा गर्दै बालबालिकाहरुले बिचैमा पढाई छोड्दा चेपाङ समुदायको विद्यार्थीहरुको शैक्षिक स्तर माथि उठ्न नसकेको हो । निजगढ नगरपालिकाको १३ नम्बर वडामा ३ दर्जन भन्दा बढी चेपाङ परिवारको बसोबास रहेकोछ । आर्थिक रुपमा अति विपन्न स्तरका चेपाङ समुदायको शैक्षिक स्तर समेत अत्यन्तै न्यून रहेकोछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घलानको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!