Sajhedari Daily
Latest News from Nepal

साहिदको हत्या गर्ने तीन जनालाई बारा प्रहरीद्वारा पक्राउ

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही टोलमा बस्ने जाकिर हुसेनको १४ वर्षीय छोरा साहिद हुसेन मियाको हत्यामा संलग्न तीनजनालाई बारा प्रहरीले बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीटोल निवासी २५ वर्षीय कियामुदिन मंसुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आमोदिन मियाँ अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

मृतकलाई जीतपुरसिमरा उपमहानगरपालिका–१० बेहरा स्थित फयाक्ट्रीहरूको फोहोर फाल्ने डम्पिङ साईडमा लगेर तिनै जना मिलेर हत्या गरेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन ।

प्रहरी उपरिक्षक शाहीका अनुसार हत्या गर्ने योजना अनुसार कियामुदिनले तीन घण्टा अगाडी घटनास्थलमा आफनो घरबाट घरेलुु हतियार दाप लगि नालामा लुकाएको, मृतकलाई गांजा खान जांउ भनि अफसानले लगेको र आबोदिन र कियामुदिन पहिलादेखि नै घटनास्थलमा रहेको जनाए ।

आबोदिनले ल्याएको डोरी कियामुदिनलाई दिएपछि पछाडिबाट घांटीमा डोरी कसेर लडाएपछि आबोदिन र अफसानले मृतकलाई थिचि राखेको थिए। आबोदिनले मृतकको टाउकोमा ढुंगाले प्रहार गरेको र पहिला देखि नै लुकाई राखेको दाप कियामुदिनले लिएर आएको र ततपश्चात जिउँदै छ भनी आबोदिनले खुट्टा, ढांड र कम्मरमा दाप प्रहार गरेको प्रहरी समक्ष बयान दिएको उपरिक्षक शाहीले जानकारी गराएका छन ।

मृतक साहिद र पक्राउ परेका तिनै जना लागूऔषध गांजा सेवन कर्ता रहेको र उनीहरू बिच जग्गा सम्बन्धी पारिवारिक विवादले रिसवी रहेको, आपसी विवाद, झै–झगडा, प्रेम सम्बन्ध एवं सहज टार्गेट तथा आर्थिक लाभले तीनै जनाले मिलेर हत्या गरेको जानकारी गराइएको थियो ।

गत फागुन ११ गते हराएको बालक सहिदलाई हत्या गर्नको लागि एक दिन अगाडि नै योजना बनाईएको र तिनै जनाले मिलेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन। कुहिएको अवस्थामा शव फेला परेपछि बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रको कमाण्डमा अनुसन्धान टोली खटाई तालिम प्राप्त कुकुरको समेत प्रयोग गरी अभियुक्तहरु पत्ता लगाइएको बारा प्रहरीले जनाएको छ ।