कलैया : बारा प्रहरीले रकम सहित नियन्त्रणमा लिएका तीन जनालाई छाडेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।
विशेष सूचनाको आधारमा शनिबार प्रहरी चौकी पथलैया बाराबाट पथलैया चौक स्थित खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको थियो। नारायणघाट बाट बीरगंज तर्फ आउँदै गरेको ना ५ ख ६५४४ नं. को यात्रु बाहक बसलाई रोकि जाँच गर्दा प्रहरीले उनीहरुबाट १० लाख १७ हजार पाँच सय नेपाली रुपैयाँ र एक लाख ४७ हजार पाँच सय भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको हो।
आवश्यक छानबिन गर्दै जाँदा ति मानिसहरू सहितका २०/२५ जनाको समूहमा आबद्ध ब्यक्तिहरू सुदुर पश्चिमका बिभिन्न जिल्लाहरूमा आफ्नो ट्याक्टर लिइ गाउँ गाउँ घुमि सिरक,डस्ना, गद्दा लगायतका कपडाको समानहरु बनाउने बेच्ने र आर्थिक उपार्जन गरी घर पठाउने गरेको पत्ता लगाएको थियो।
समूहको जो कोही घर गएमा सबैजनाको कमाई एकासँगोल गरी घर लिई जाने र बाँडफाड गर्ने गरेको भन्ने देखिएको प्रहरीले जनाएको हो। विश्वास गर्नुपर्ने कारण तथा प्रमाणहरू समेत देखिए पश्चात छानबिन तथा अनुसन्धान गरी आवश्यक परेमा उपस्थित हुने गरी सम्बन्धित ब्यक्तिलाई रकम जिम्मा लगाई छोडिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रहरीले भारत,बिहार,जिल्ला पूर्वी चम्पारण,ग्राम दरपा ४ बस्ने अं.वर्ष ५० को उजीर मिया,सोही ग्रामका छोडादानु बुदबाहा–६ बस्ने अं.वर्ष ३५ को समिर आलम र सोही ठाउँका १७ वर्षका गफार मियालाई प्रहरीले अनुसन्धान पश्चात छाडेको हो।


