कलैया : अनलाईन माध्यमबाट एसएमसी एप्लिकेशन स्क्यामिङ गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा घर भएका ६७ वर्षीय राम निवास कलवार, पर्सा वीरगंज महानगरपालिका–१ घर भएका ३७ वर्षीय नासिर मिया अंसारी सोही महानगरपालिका–४ घर भएकी ६६ वर्षीया सायरा खातुन, चिनीया नागरिक ३७ वर्षीय हि ज्याग ज्याग, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने रामेछाप घर भएका २१ वर्षीय मिलन श्रेष्ठ, काठमाडौं मण्डिखाटार बस्ने तनहुँ घर भएका १९ वर्षीय सौगात थापा छन ।
यस्तै अन्यमा काठमाडौं लोलाङ बस्ने नुवाकोट घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ, चितवन खैरहनी नगरपालिका–६ घर भएका २३ वर्षीया सोनम खातुन, काठमाडौं टोखा नगरपालिका–८ बस्ने २३ वर्षीया प्रिया केसी, गुल्मी कालीगण्डकी गाउँपालिका–७ घर भएकी २२ वर्षीया मोनिका गुरूङ, धादिङ गंगाजमुना गाउँपालिका–३ घर भएकी २१ वर्षीया गीता गुरूङ, रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
चितवन खैरहनी नगरपालिका–६ स्थित कार्यालय स्थापना गरी एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि नामक कम्पनीको आवरण प्रयोग गरी एसएमसी एप्लिकेशनको माध्यमबाट नेटवर्क विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाई र भौतिक रूपमा कार्यालय समेत स्थापना गरी सर्वसाधारणमा यो पूर्णतः कानूनी काम हो भन्ने भ्रम सिर्जना गरेको, विश्व प्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुट्टो दाबी गरी “एसएमसी“ नामक मोबाइल एपमा आवद्ध गराएको, सदस्यहरूलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरे बापत आकर्षक कमिसनको प्रलोभन देखाइएको, कुनै वास्तविक व्यापारिक कारोबार नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने ’पोन्जी मोडल’ अपनाएको खुल्न आएको छ ।
साथै उनीहरूले हालसम्म १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रूपैयाँ बराबरको रकम ठगी गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी तथा संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराईएको छ ।
एसएमसी एपबाट सुरुमा छिटो पैसा कमाउन सकिने तथा साथीहरुलाई रिफरल गरेर थप बोनस समेत पाउन सकिने जस्ता किसिमका प्रलोभन देखाई अथवा झुट्टा आश्वासन दिलाई एकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहानामा ठगी गर्ने प्रवृत्ति बढ्दै गईरहेको हुँदा यस्ता प्रलोभनमा नपर्न हुन आग्रह गरेको छ ।


