फुटपाथ हटाउने क्रममा जीतपुर बजारमा नगर प्रहरीसँग र फुट व्यवसायीवीच झडप

रञ्जन यादव
180 पाठक संख्या

जीतपुर । बाराको जीतपुर बजारमा फुटपाथ व्यवस्थापन अभियानका क्रममा बिहीबार नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित बजार क्षेत्रमा भएको विवादका कारण केही समय अवस्था तनावपूर्ण बनेको थियो।

उपमहानगरपालिकाले सडक तथा फुटपाथ खाली गराउने अभियान सञ्चालन गरिरहेका बेला फुटपाथमा मकै र फलफूल बिक्री गर्दै आएका व्यवसायीहरूले विरोध जनाएका थिए। सोही क्रममा विवाद बढ्दै जाँदा नगर प्रहरीमाथि हातपात भएको स्थानीयले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा एक व्यवसायीले जल्दै गरेको आगो नगर प्रहरीतर्फ फालेका थिए। यद्यपि उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

घटनापछि आक्रोशित व्यवसायी र केही स्थानीयवासीले हातमा रड तथा चक्कु लिएर उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए। स्थिति थप बिग्रिन नदिन ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी र नगर प्रहरीको संयुक्त प्रयासपछि अवस्था नियन्त्रणमा आएको बताइएको छ।

हाल जीतपुर बजारको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्। विवाद साम्य भएपछि केही व्यवसायी पुनः फुटपाथमै व्यापार सञ्चालन गर्न फर्किएका छन्।

उपमहानगरपालिकाले भने बजार व्यवस्थापन तथा सडक अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, नगर प्रहरीमाथि आक्रमण गर्ने र सार्वजनिक काममा अवरोध पु¥याउने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Leave a review

This will close in 0 seconds