विद्यार्थीको स्वास्थ्यसँग खेलवाड : पन्ना देवी माविको दिवा खाजामा म्याद गुज्रेको मसाला प्रयोग

साझेदारी डेलि
157 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका-५ घुसुकपुरस्थित श्री पन्ना देवी माध्यमिक विद्यालयमा दिवा खाजामा प्रयोग गरिने विक्टरी ब्रान्डको मर्चा पाउडरको ४ महिना म्याद गुज्रिएको फेला परेको छ।

विद्यालयमा भएको अनुगमनका क्रममा उक्त सामग्री प्रयोगका लागि राखिएको अवस्थामा भेटिएपछि विद्यार्थीको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। बुधबार जेनजी युथ अफ बाराले कलैया उपमहानगरपालिकाको शिक्षा शाखाको अनुमति लिएर विद्यालयमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको मर्चा पाउडर फेला परेको हो।

जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेका अनुसार अनुगमनका क्रममा विद्यालयको शौचालयको अवस्था पनि अत्यन्त दयनीय भेटिएको छ। शौचालयमा धारा नभएको, पानीको अभाव रहेको तथा सरसफाइ नहुँदा किरा चलिरहेको अवस्था देखिएको उनले बताए।

विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेका बेला खाद्य सामग्रीको गुणस्तर र सरसफाइमा देखिएको लापरबाहीले विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने उनको भनाइ छ।

यस विषयमा प्रतिक्रिया दिँदै प्रधानाध्यापक गिरिले विद्यालयमा ईसीडीदेखि कक्षा ५ सम्मका १८४ जना विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित भइरहेको बताए। उनले दिवा खाजामा प्रयोगका लागि राखिएको मर्चा पाउडरको म्याद गुज्रिएको स्वीकार गर्दै आउनेमा यस्तो कमजोरी दोहोरिन नदिने गरी आवश्यक सुधार गरिने प्रतिबद्धता जनाए।

यस विद्यालयको करिब २३ बिघा खेतीयोग्य जग्गा तथा ११ वटा सटरबाट लाखाै आमदानी आउने गरेको र यो जिल्लाको धनी विद्यालयहरूमा पने गर्छ।

Leave a review

This will close in 0 seconds