पर्सामा १६.५७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
27 पाठक संख्या

बारा । पर्साको वीरगञ्जबाट प्रहरीले १६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१४ स्थित कृष्ण प्रणामी चोकमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति करिब १०ः३० बजे विशेष टोली परिचालन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त टोलीले कृष्ण प्रणामी चोकमा शंकास्पद अवस्थामा पैदल हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा भारतको बिहारस्थित मोतीहारी जिल्ला, पंटोका श्रीपुर ग्राम पञ्चायत–१ का २५ वर्षीय शत्रुधन पासवानको पाइन्टको खल्तीबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद पदार्थको तौल प्लास्टिकसहित १८ ग्राम ८० मिलिग्राम रहेको थियो भने प्लास्टिक हटाउँदा १६ ग्राम ५७ मिलिग्राम कायम भएको थियो ।

पक्राउ परेका पासवानलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

Leave a review