सिमरा । रक्त अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका–३ चुनाभट्टामा आयोजित रक्तदान कार्यक्रममा ७२ जनाले रगत दिएका छन्। श्री पुण्डेश्वर एकादशी समूहको आयोजनामा भएको कार्यक्रममा १७ महिला र ५५ पुरुषले रक्तदान गरेका हुन्।
स्थानीयस्तरमा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। समूहकी सचिव शिक्षा ढुंगानाले पहिलोपटक रक्तदान गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो।
कार्यक्रम सञ्चालनका लागि स्थानीय व्यक्ति तथा विभिन्न सहयोगीबाट २२ हजार ९२ रुपैयाँ आर्थिक सहयोग जुटेको आयोजकले जनाएको छ। रक्तदानमा सहभागीलाई आवश्यक सामग्री तथा खाद्य वस्तु उपलब्ध गराउन विभिन्न संघसंस्था र व्यवसायीले समेत सहयोग गरेका थिए। पाथीभरा इङ्लिस बोर्डिङ स्कुलले रक्तदाताका लागि फ्रुटी र ग्लुकोज उपलब्ध गराएको थियो। त्यसैगरी सिमरा दूध डेरीले ५३ लिटर दूध तथा अमृत डेरीले रक्तदातालाई प्रदान गरिने प्रमाणपत्र सहयोग गरेको थियो।
रक्तदातालाई थप हौसला प्रदान गर्ने उद्देश्यले गुप्ता इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक बिकेश गुप्ताले एक कार्टुन अण्डा उपलब्ध गराएका थिए। सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग जारी राख्ने उनले प्रतिबद्धता जनाएको आयोजकले बताएको छ। समूहका अनुसार संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा प्रयोग हुनेछ। स्थानीयस्तरबाट नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दा रक्त अभाव कम गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।


