कलैया । रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिँदा बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटनाबाट जारी भएको देखिने आई.ए. तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट पुष्टि भएको हो।
नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको अख्तियारको दाबी छ।
उजुरीका आधारमा अनुसन्धान गर्दा यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद तथा जरिवाना सजाय हुन मागदाबी गर्दै बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

