जीतपुर । आर्थिक अवस्था वा अन्य कारणले विशेषज्ञ चिकित्सकसम्म सहज पहुँच नपुगेका स्थानीयलाई लक्षित गर्दै बाराको सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श उपलब्ध गराइएको थियो। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित केन्द्रको परिसरमा सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारीले गरेका थिए। कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराकी प्रमुख ब्रह्माकुमारी मधु दिदीको अध्यक्षतामा सम्पन्न भएको हो।
शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि युरोलोजी, बालरोग, नाक–कान–घाँटी, मुटु, थाइराइड, मधुमेह, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा तथा दाँतसम्बन्धी सेवा प्रदान गरिएको थियो।
स्वास्थ्य परीक्षण तथा परामर्शमा डा. रविन्द्र कुमार सिंहले सामान्य तथा विभिन्न रोगसम्बन्धी परीक्षण गरेका थिए। डा. पशुपतीनाथ भट्टले युरोलोजी, प्रोस्टेट तथा मिर्गौलासम्बन्धी सेवा दिएका थिए भने डा. अशोक दासले बालरोगको परीक्षण गरेका थिए।
त्यसैगरी डा. पन्नालाल प्रसादले नाक, कान तथा घाँटी, डा. नवीन कुशवाहले मुटु, थाइराइड तथा मधुमेह, डा. अनि पाण्डेले स्त्रीरोग, डा. मुकुन्द यादवले शल्यक्रिया तथा सर्जरीसम्बन्धी परामर्श दिएका थिए। यस्तै, डा. अरविन्द साहले हाडजोर्नी तथा नसासम्बन्धी, डा. मिथिलेश कुशवाहले आँखासम्बन्धी र डा. उषा महतोले दाँत, मुख तथा गिजासम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्षेत्रका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराका परमेश्वर श्रेष्ठका अनुसार शिविरले स्थानीय नागरिकलाई एउटै स्थानमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष स्वास्थ्य परीक्षण र परामर्श लिने अवसर प्रदान गरेको छ।
विशेषज्ञ स्वास्थ्य सेवा लिन आर्थिक वा भौगोलिक कठिनाइ भोगिरहेका स्थानीयलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क शिविरबाट त्यस्ता नागरिकले समेत सहज रूपमा स्वास्थ्यसम्बन्धी सेवा लिन पाएको आयोजकको भनाइ छ।


