धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साझेदारी डेलि
66 पाठक संख्या

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंले भ्रष्टाचार गरेको आरोपमा पाँच जना उपर आरोपपत्र दायर गरेको छ। विशेष अदालतमा आर्थिक जरिवाना तथा कैद सजायको माग दावी गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

अख्तियारले धनुषाको धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, सह–लेखापाल बिनोद कुमार मण्डल, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रा.लि.का प्रतिनिधि संजय कुमार यादव उपर आरोपपत्र दायर गरेको हो।

आरोपपत्रमा यिनीहरुको मिलोमतोमा तीन लाख ८० हजार बराबरको आर्थिक नोक्सान गराई भ्रष्टाचार गरेको उल्लेख छ। धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतोमा आर्थिक वर्ष २०७७/०७८ मा डिप बोरिङ जडान लगायतका योजनाहरूको खरिद कार्यमा फर्जी पत्रिका समावेश गरी सार्वजनिक खरिद कानुन विपरीत सूचना नै प्रकाशन नगरी उक्त कार्यमा राज्यको रकम हिनामिना गरेको बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।

धनौजी गाँउपालिकाले आ.व. २०७७/७८ मा संघीय सरकारबाट विशेष अनुदान अन्तर्गत डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउण्ड वाल निर्माण तथा विद्यालय भवन निर्माणका लागि बजेट प्राप्त गरी ३ वटा योजनाको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा एक आपसी मिलेमतो तथा योजनामा प्रतिवादीहरूले आफूहरूलाई गैरकानुनी लाभ तथा धनौजी गाँउपालिकालाई गैरकानुनी हानि पुर्यातउने बदनियतले उक्त सूचना लुकाई छिपाई, एकै दिनको पत्रिकासमेत फरक–फरक बेहोराको प्रति तयार गरी गराई, सार्वजनिक रूपमा प्रकाशन गरी वितरणमा ल्याईएको पत्रिकामा खुला बोलपत्र आह्वानको सूचना प्रकाशन नगरी नगराई धनौजी गाँउपालिका ठेक्काको प्रयोजनार्थ अभिलेख फाइलमा राख्ने र लेखापरीक्षण गर्ने निकाय अधिकारी समेतलाई झुक्यानमा पारी गैरकानुनी लाभ उठाइएको जनाइएको छ।

जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाको मिति २०७८ बैशाख २३ गते एक प्रतिमा मात्र प्रकाशित उक्त खुला बोलपत्र आह्वानको सूचना धनौजी गाँउपालिकामा पेस गरी गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा अमृत मिडिया प्रा.लि. बाट भुक्तानी माग गरी गराई धनौजी गाँउपालिकाबाट एकै विज्ञापनमार्फत्‌ सूचना दिएको वापत दुई अलग योजनाको विज्ञापन भनी जम्मा रकम रू.तीन लाख असी हजार रूपैयाँ जनकपुर टुडे प्रा.लि.लाई भुक्तानी गरे गराएको देखिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।

सूचना विवरण लुकाई सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी ढङ्गले प्रतिस्पर्धालाई सीमित गराउने कलुषित मनसाय साथ कानुनतः सार्वजनिक रूपमा सूचित गर्नुपर्ने विवरणलाई लुकाई छिपाई भुक्तानी दिए लिएको स्थापित भएकोले उक्त कार्यमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाइएको छ।

Leave a review