बारा । सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण जनकपुर विमानस्थलमा अवतरण गरिएको छ।
बुद्ध एयरको U4 554 उडान बुधबार बिहान १०ः३० बजे सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौंको आकाशमा पुगेपछि विमानलाई करिब ३० मिनेटसम्म होल्ड गरिएको थियो।
काठमाडौं विमानस्थल क्षेत्रमा वर्षा हुनुका साथै मौसम प्रतिकूल भएपछि अवतरणमा समस्या देखिएको र विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको जनाइएको छ। उक्त विमान दिउँसो करिब १२ः३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको बताइएको छ।
विमानका कर्मचारीका अनुसार मौसम र काठमाडौं विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुनः काठमाडौंका लागि उडान गर्ने तयारी गरिएको थियो। समाचार तयार पार्दासम्म विमान जनकपुर विमानस्थलमै रहेको बताइएको छ।


