वीरगञ्जको मुख्य सडक विस्तारको सुनुवाई सर्‍यो

साझेदारी दैनिक
307 पाठक संख्या

वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दाको सुनुवाइ सरेको छ ।

सर्वाेच्च अदालतमा विचाराधिन रहेको उक्त मुद्दाको सुनुवाई पुनः सरेको हो ।

त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक,घण्टाघर,आदर्शनगर,रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुख्य सडक विस्तारको मुद्दाको पेशी आईतबारको लागि निर्धारित गरिएको थियो ।

सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाई हेर्न नभ्याइनेमा राखेपछि २४ ओैं पटक उक्त मुद्दाको पेशी सरेको हो ।

वीरगंजको मुख्य सडक विस्तारको मुद्दाको पेशी सर्वोच्च अदालतका माननीय न्यायाधिश द्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलाशमा परेको थियो ।

न्यायाधिश द्वयको इजलासमा यस अघि शुक्रबारकै मुद्दा सुनुवाईको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगंज सडक विस्तारको मुद्धा भने हेर्न नभ्याइनेमा रहन पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिएका हुन् । 

लक्ष्मण साह रौनियार,राजकुमारी देवी तुलस्यान,भरत प्रसाद रौनियार र वीरेन्द्र कुमार संघाईले दायर गरेको रिट पेशीमा पहिलो नम्वरमै परेको थियो । 

सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै सडक विस्तार गर्ने तयारी गरेको थियो । त्यस आसपासका घरधनीहरुले सडक विस्तारको सन्दर्भमा मुद्दा दिएका हुन् । 

Leave a review