रौतहट कटहरियाका प्रमुख उपप्रमुख सहित ११ जना विरुद्ध अख्तियारद्धारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

साझेदारी दैनिक
294 पाठक संख्या

रौतहटको कटहरिया नगरपालिकाको नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित ११ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कटहरियाका नगरप्रमुख अजय प्रकाश,उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध विहिवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुलाई काम भन्दा बढीको नापी प्रतिवेदन तयार गरी उपभोक्ता समितिलाई भुत्तानी गरिदिएको भन्दै भ्रष्टाचार गरेको दाबी सहित अख्तियारले आरोपपत्र दायरगरेको जनाएको छ ।

आ.व. २०७८÷०७९ मा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानबाट कटहरिया–२ जमुनिया बजारको रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काम गर्दा १२ लाख ५२ हजार नौ सय एकचालीस रुपैयाँ पैसा पन्चानब्बे) विगो दावी सहित मुद्दा दायर भएको अख्यियारद्दारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सामुदायिक भवनमा टायल्स लगाउने कार्यको योजना सम्झौता फारममा प्रमुख,उपप्रमुख र अधिकृत रोहवरमा बसी हस्ताक्षर गरेको र उपभोक्ता समितिलाई भए गरेको काम भन्दा बढी भुक्तानी दिने बदनियतले नगर कार्यपालिकाको कार्यालय,कटहरिया रौतहटलाई रकम भुक्तानी दिने सम्बन्धमा आफैले हस्ताक्षर गरी आफ्नै कार्यालयलाई आफैले सिफारीस गरेको आयोगद्धारा दायर मुद्दामा उल्लेख गरिएको छ ।

अख्तियारले प्रमुख,उपप्रमुख सहित कार्यकारी इन्जिनियर राजेशकुमार साह,योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव,कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो.मकसुद आलम,बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह,कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a review

This will close in 0 seconds