पूर्व सहायक मन्त्री पासवानमाथि छानवीन गरी कारवाही गर्न नगर प्रमुख यादव,विकास समिति अध्यक्ष तेलीको माग

साझेदारी दैनिक
169 पाठक संख्या

कलैया : महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव तथा श्री गढीमाई मन्दिर तथा सञ्चालन समितिका अध्यक्ष रामचन्द्रसाह तेलीले पूर्व मन्त्री कलावती पासवानमाथि छानवीन गरी कारवाहीको माग गरेका छन्।

उनीहरुले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई छुट्टा छुट्टै निवेदन दिदै पासवानमाथि कारवाहीको माग गरेका हुन्।

मेयर यादवले पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेस बाराका जिल्ला कार्यसमिति सदस्य पासवानले विभिन्न सामाजिक सञ्जाल तथा मिडियामा महागढीमाई नगरपालिका अन्तर्गत पर्ने विश्वप्रसिद्ध श्क्तिपीठ माता गढीमाईको पञ्चवर्षीय मेलामा आस्थाको रुपमा दिइने पशुबलि विरुद्ध उच्छृंखल गतिविधि गर्न गराउनको लागि व्यक्तिहरुलाई आर्थिक प्रलोभन तथा नगद रकम समेत वितरण गरी मेला भाँडने कार्य गरेको विभिन्न माध्यमबाट जानकारी हुन आएकोले उक्त कार्यक्रम सञ्चालन गर्न कहाँबाट अनुमति प्राप्त गरी रकम वितरण गरिएको हो ।

सो सम्बन्धमा आवश्यक छानवीन गरी कारवाहीको अनुरोध नगरप्रमुख यादवले गरेका हुन्।

यस्तै श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष तेलीले श्री गढीमाई पञ्चवर्षीय मेलालाई निरुत्साहित गर्ने गरी विभिन्न किसिमको बली व्यवस्थापनलाई मुद्दा बनाई सनातन धर्मलाई तल देखाउने काम भएको जनाएका छन्।

निमुखा मानिसहरुलाई पैसा वितरण गरी हुहल्ला गराउने जस्ता कृयाकलाप तथा विभिन्न सञ्जालहरुमा उल्टा कुरा गरी मेला विथोल्ने भएको हुदा सोधपुछमा झिकाई कुन प्रयोजनले पैसाको श्रोत कहाँबाट आयो त्यस्को बारेमा गहन छानवीन गरी कारवाही गर्ने माग समितिबाट पेश गरेको उनले निवेदनमा लेखेका छन्।

गढीमाई मन्दिरमा यही मंसिरमा पञ्चवर्षीय मेला लाग्न गइरहेको छ।

यस विषयमा पूर्व मन्त्री कलावती पासवानसंग कुराकानी गर्दा आफू नीर कतै बाट पैसा नआएको र मैले पैसा बाडेको होईन उनले बताइन् । चर्को घाममा शान्तिपुर्ण र्‍यालीमा सहभागी भएका महिलाहरुलाई खाजा,फ्रुटी,पानी र गाडी भाडाको लागि मात्र पैसा दिएको बताएकी छिन् ।

Leave a review

This will close in 0 seconds