हिन्दू धार्मिक र्‍याली र रथयात्रालाई अराजक भन्नेलाई वीरगञ्जमा कारवाहीको माग

राम मण्डल
255 पाठक संख्या

वीरगञ्ज : हिन्दू धार्मिक र्‍याली र रथयात्रालाई अराजक भनेर गैर जिम्मेवार वक्त्ब्य दिनेलाई कारवाहीको माग वीरगञ्जमा गरिएको छ।

विश्व हिन्दू परिषदले कारवाहीको मागका साथ पर्साका प्रमुख जिल्ला अधिकारीलाई आईतबार ज्ञापन पत्र बुझाएको हो।

वीरगञ्जको टाउन हलमा आयोजित नेपाल मुस्लिम संघको कार्यक्रममा जफर अन्सारीले बीरगंजमा निकालिने हिन्दू धार्मिक रैली र रथयात्रालाई अराजक भनेका थियो। यो अभिव्यक्ति गैर जिम्मेवार, अपमानजनक र असहिष्णुको संज्ञा दिदै  उनलाई बिश्व हिन्दु परिषद नेपालले कारवाहीको माग गरेको हो।

अन्सारीलाई कारवाही हुनुपर्ने मागसहित परिषदका सदस्यहरुले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा अन्सारीको वक्तव्यले समाजमा धार्मिक वैमनस्यता,द्वन्द र विखण्डन ल्याउने खतरा रहेको उल्लेख छ। यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन ढिलाई गर्न नहुने भनिएको छ।

हिन्दू धर्मको धार्मिक महत्वलाई हृदयदेखि अपमानित गर्ने कुनै पनि अभिव्यक्तिलाई राज्यले तुरुन्तै अपराध मान्दै सजाय दिनुपर्ने माग वक्तव्यमा गरिएको छ। यस्ता घटनाले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा गम्भीर खलल पु-याएकोले यसको समाधान गर्न आवश्यक रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता घटनाले समाजमा ठूलो धार्मिक तनाव, अशान्ति र हिन्दू समुदायमा विद्रोहको भावना जन्माउने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने बिज्ञप्तिमा जनाइएको छ ।

साथै सम्पूर्ण हिन्दू समाज, विश्व हिन्दू परिषद् लगायतका धार्मिक समूहहरूलाई एकत्रित गर्दै अन्सारीविरुद्ध कानुनी कारबाही नगरेको खण्डमा आन्दोलनका थप चरणहरू सुरु गर्ने चेतावनी समेत परिषदले बिज्ञप्ति मार्फत दिएको छ ।

विश्व हिन्दु परिषद नेपाल पर्साका अध्यक्ष ब्रिजेश्वर कुमार मल्लिकद्वारा हस्ताक्षरित ज्ञापन पत्र प्रजिअ भुसाललाई बुझाइएको थियो। हिन्दू धर्ममाथि कुनै प्रकारको आक्रमण सहन नसकिने ज्ञापनपत्रमा लेखिएको छ।

यसले समाजको शान्ति र साम्प्रदायिक सद्भावमा गम्भीर खलल पु-याएको परिषदले बुझाएको ज्ञापन पत्रमा भनिएको छ।

Leave a review