सिम्रौनगढको ऐतिहासिक क्षेत्रमा पुरातत्त्व विभागको टोलीले उत्खनन गर्दै

रञ्जन यादव
367 पाठक संख्या

जीतपुर : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुर स्थित पलकियामा माई क्षेत्रमा पुरातत्त्व विभागको टोलीले उत्खनन कार्य गरिरहेको छ ।

जिल्लाको ऐतिहासिक,धार्मिक,र पर्यटकीय महत्व बोकेको सिम्रौनगढको पलकिया माई क्षेत्रमा नेपाल सरकारको पुरातत्त्व विभाग,काठमाडौँबाट आएको तीन सदस्यीय टोलीले मङ्सिर ७ गते शुक्रवारदेखि उत्खनन कार्य जारी राखेको हो ।

पुरातत्त्व शाखा प्रमुख भास्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीमा पुरातत्त्व विज्ञ देवेन्द्र नाथ तिवारी,पुरातत्त्व अधिकृत हरि प्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठ सहभागी छन् । पाँच दिनदेखि जारी उत्खननका क्रममा महत्त्वपूर्ण संरचना र जानकारीहरू फेला परेका छन् ।

स्थानीय पुरातात्त्विक विज्ञ भरत साहका अनुसार,पलकियामाई परिसरमा पुराना इट्टाले छापेको आँगन भेटिएको छ ।

त्यस्तै त्यस क्षेत्रमा रहेको खाल्डोको उत्तरतर्फ रहेको जस्तै दुई वटा स्तम्भजस्तो देखिने ढुङ्गे संरचना पनि सतहमा देखा परेको छ भने परिसरको उच्च भागमा विभिन्न किसिमका पुराना इट्टा र तिनका टुक्रा,दियो,भाँडाकुँडा,प्रस्तर मालाको दाना र वास्तुका थुप्रै अंशहरू भेटिएका छन् ।

मन्दिरमा प्रयोग हुने अमलकको टुक्रा भेटिएको हुँदा यस क्षेत्रमा मन्दिर हुन सक्ने प्रारम्भिक सङ्केत फेला परेको साहले बताए । जमिनमुनि रहेका पुरातात्त्विक संरचनाहरूको प्रकृति र इतिहास उजागर गर्न उत्खनन थालिएको साहले जानकारी दिए ।

जिओफिजिक्स सर्वेक्षणले पलकिया माई क्षेत्रलाई महत्त्वपूर्ण साइटको रूपमा पहिचान गरेको पुरातत्त्व अधिकृत हरि प्रसाद भुसालले बताए ।

उत्खननको पाँचौँ दिन सिम्रौनगढ नगरपालिकाका प्रमुखसहितका पदाधिकारीहरूले स्थलगत भ्रमण गर्दै चासो व्यक्त गरेका छन् । यसले सिम्रौनगढको ऐतिहासिक र सांस्कृतिक महत्त्व उजागर हुने विश्वास गरिएको छ ।

सिम्रौनगढको इतिहास १२औँ शताब्दीमा राजा हरिसिंह देवको शासनकालसँग सम्बन्धित छ । यो क्षेत्रले धार्मिक,सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले विशिष्ट स्थान ओगटेको छ । पलकिया माई क्षेत्र धार्मिक आस्थासँगै पुरातत्त्व अध्ययनका लागि पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

उत्खनन कार्यले सिम्रौनगढको पुरातन महत्त्व पुष्टि गर्दै यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यसको माध्यमबाट क्षेत्रको सांस्कृतिक धरोहर उजागर हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

उत्खनन कार्य आगामी २१ दिनसम्म सञ्चालन हुने जनाइएको छ । उत्खननले पुरातात्त्विक संरचनाहरूको पहिचान र अध्ययनमा महत्त्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।

Leave a review